
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा आज अफ्रिकी राष्ट्र मरिससको सामना गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ पौने ५ बजे नेपाल र मरिससबीचको खेल शुरु हुनेछ।
पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो। नेपालको जितमा विमल घर्ती मगरले निर्णायक गोल गरेका थिए।
खेलपछि मरिससका प्रशिक्षक मारिइ पास्कल टोनीले प्रतिकृया दिँदै आफ्ना महत्वपूर्ण चार खेलाडी नहुँदा कठिन भएको बताएका थिए।
'हाम्रा केही खेलाडी दोस्रो म्याचमा उत्रनेछन्। उनीहरुको उपस्थितिले खेल फरक पार्न सक्नेछ,' उनले भने, 'नेपालले पनि केही राम्रा अवसर बनाएको थियो। केही परिवर्तन हुन सक्छ। ४ जना मुख्य खेलाडीले आज खेलेनन्। अर्को म्याचमा खेल्नेछन्।'
मरिसस फुटबल एसोसिएसनका अनुसार नेपाल उत्रेपछि गरेको पीसीआर परीक्षणमा लोइक मिचेल, वाल्टर सेन्ट मार्टिन, हान्स पटाटे र केरल्सन एगाथेलाई कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। जसमध्ये पछिल्लो परीक्षणमा हान्स पटाटे र वाल्टर सेन्टमार्टिनको मात्र कोभिड रिपोर्ट नेगेटिभ आएको छ। र, थप टिमका मेडिकल स्टाफ पास्कल कोलिन र अब्दुल मदरबोक्कुस संक्रमित भएका छन्। त्यस्तै थप दुई खेलाडी सामुएल ब्रास र स्टेफेन नबाबलाई पनि कोभिड संक्रमण पुष्टि भएको मरिसस फुटबल फेडेरेसनले जनाएको छ।
रंगशालामा एकतिहाइ दर्शकलाई कोभिड मापदण्ड पालना गर्दै प्रवेश अनुमति दिइएको छ। यद्यपि पहिलो खेलमा दर्शक दीर्घामा सामाजिक दुरी कायम भएको देखिएको थिएन। यसलाई लिएर एन्फाको आलोचनासमेत भइरहेको छ।
कोभिड १९ को संक्रमण दर पछिल्ला केही दिनयता घट्दो क्रममा भए पनि रंगशालामा मापदण्ड पालनामा कडाइ नहुँदा संक्रमण फैलने जोखिम भने देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमवारको तथ्यांकले पछिल्लो २४ घन्टामा १६ हजार ८८ जनाको कोरोना परीक्षण गर्दा ५ हजार २९२ जनामा कोरोना संक्रमण देखिएको हो।कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै काठमाडौं उपत्यकामा दैनिक हजारौंको संख्यामा संक्रमित थपिँदैछन्। संक्रमण थप फैलिनबाट रोक्न काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रशासन कार्यालयले विभिन्न प्रतिबन्धहरु लगाएको छ। मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा थपिएका ५ हजार २९२ कोरोना संक्रमित मध्ये ३२.५३ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा पहिचान भएका हुन्। काठमाडौंमा १ हजार ३६१ जना, ललिपुरमा २७१ जना र भक्तपुरमा ९० जनामा संक्रमण गरि सोमवार उपत्यकामा १ हजार ७२२ जना संक्रमित थपिए।
हाल देशभर ७९ हजार २७२ जना सक्रिय कोरोना संक्रमित छन्। ती मध्ये ५९.८० प्रतिशत सक्रिय संक्रमित काठमाडौं उपत्यकामा नै छन्।
मन्त्रालयका अनुसार माघ १७ गतेसम्म उपत्यकामा ४७ हजार ४०७ जना सक्रिय कोरोना संक्रमित छन्। ती मध्ये काठमाडौंमा ३२ हजार १७ जना सक्रिय संक्रमित छन्। यस्तै, ललितपुरमा ९ हजार ९०७ जना र भक्तपुरमा ५ हजार ४८६ जना सक्रिय संक्रमित छन्।
यता रंगशालामा दर्शकलाई भीआईपीतर्फ १ हजार र सामान्यतर्फ पाँच सय टिकट शुल्क तोकेर प्रवेश अनुमति दिइएको छ।
मरिसससँगको दोस्रो खेललाई नेपालका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २३ सदस्यीय टोलीको घोषणा गरेका छन्।
यी हुन अलमुताइरीले घोषणा गरेको २३ सदस्यीय टिम
किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नवीन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्तिमगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ, सन्तोष तामाङ