PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

परदेश यात्रामा माधवनारायण : पशुपतिमा रातभर व्रतालुको बास, बिहानै वाग्मतीमा स्नान

परदेश यात्रामा माधवनारायण : पशुपतिमा रातभर व्रतालुको बास, बिहानै वाग्मतीमा स्नान

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : स्वस्थानी व्रत आरम्भ भएदेखि साँखुस्थित शालीनदीमा भक्तजनहरुको घुँइचो लाग्ने गर्छ। माधवनारायणको दर्शन गर्न भक्तजनहरु शालीनदी पुग्ने गर्छन्। सोमवारबाट भने माधव नारायण 'परदेश यात्रा'मा निस्किएका छन्। जसकारण अहिले शालीनदीमा भक्तजनको संख्या घटेको छ।

सोमवार नै व्रतालुसहित माधव नारायण साँखुबाट बाहिरिएका हुन्। साँखुबाट बज्रयोगिनी मन्दिर पुगेर त्यहाँबाट माधव नारायणलाई पशुपति पुर्‍याइएको थियो। साँखुमा एक महिना लामो व्रत बसिरहेका व्रतालुहरु माधवनारायणसँगै पैदल हिँडेर पशुपति पुगेका थिए।

आज बिहानै पशुपति मन्दिर परिसरमा रहेको विरुपाक्ष मन्दिर अगाडि माधवनारायण मूर्तिलाई वाग्मतीमा स्नान गराइएको थियो। साँखुदेखि नै पैदल आएका व्रतालुहरुले पनि वाग्मतीमा स्नान गरेका थिए। त्यसपछि व्रतालुहरुले मन्दिर परिसरमा रहेका मूर्ति पूजा गरेर अन्य भक्तालुलाई टीका लगाइदिएका थिए। परालको बिच्छ्यानमाथि बसेका सबैले लगत्तै नित्य पूजा गरेका थिए। आजै पशुपतिबाट माधवनारायणलाई फर्पिङ लगिएको छ।

परदेश यात्राको क्रममा माधवनारायणलाई साँखुबाट पनौती र चाँगुनारायण समेत लग्ने गरिन्छ। यात्रामा सहभागी हुने व्रतालुहरुले चिउरा, सुन्लता, घ्यू, चाकु, रातो मुला, अदुवाको व्यवस्था आफैँले गर्नुपर्ने नियम छ।



ट्रेन्डिङ पोस्ट

Ncell