PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

दार्चुला र धार्चुला जोड्ने पुल ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य



पहिलोपोस्ट

दार्चुला र धार्चुला जोड्ने पुल ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

काठमाडौं : नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि पक्की पुल निर्माण गर्ने सम्झौतामा आज हस्ताक्षर हुँदैछ। पुल निर्माणका लागि मंगलबार दिउँसो सिंहदरबारमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले द्धीपक्षीय सम्झौता (एमओयु) मा हस्ताक्षर गर्दैछन्।

नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने पक्की पुल निर्माणका लागि यस अघि नै भारत सरकारले निर्णय गरिसकेको थियो। नेपाल सरकारले पनि गत पुस तेस्रो साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सम्झौता गर्ने जिम्मा दिइसकेको छ। सोही अनुसार मंगलबार सम्झौता हस्ताक्षर गरेर प्रक्रिया अघि बढाउन लागिएको हो।

मन्त्रालयका अनुसार अहिले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको चरणमा छ। डीपीआर तयार पारेको करिब ३ वर्षमा पुल निर्माण सक्ने योजना छ। पुल बनाउन ४० देखि ४२ करोड रुपैयाँ लाग्ने अनुमान छ। पुल दार्चुला बजारबाट करिब १० किलोमिटरमा पर्ने सीमामा निर्माण हुनेछ।

पुलले नेपालको सुदूरपश्चिम र भारतको उत्तराखण्डलाई जोड्ने छ। यो क्षेत्रमा पक्की पुल निर्माणले झोलुंगे पुल र तुइनबाट आवातजावत गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ। पुल निर्माणले दुवै देशलाइ लाभ हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले बताए।

उक्त क्षेत्रमा पारि भारततर्फ फराकिलो राजमार्ग नै आइसकेको छ तर नेपालतर्फ भने राम्रो सडक छैन। पुल निर्माणसँगै नेपाली पक्षले पक्की सडक निर्माण योजना बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell