PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

बाघ वर्षको स्वागत गर्दै चीन, नयाँ वर्षका पाहुना 'हजुरबा सी'



पहिलोपोस्ट

बाघ वर्षको स्वागत गर्दै चीन, नयाँ वर्षका पाहुना 'हजुरबा सी'
फोटो : सिन्ह्वा।

जनवरी २६, २०२२। फङनानयुआन सान्सी प्रान्तमा हिमपातलाई छिचोल्दै त्यहाँको एक घरमा लङ कोट र उनीको टोपी लगाएका ‘हजुरबा’ प्रवेश गरे। उनी त्यहाँ प्रवेश गर्दै गर्दा त्यस परिवारका सदस्यहरु चिनियाँ नयाँ वर्षको तयारीका लागि विशेष परिकार बनाउँदै थिए- ‘हुआमो (स्टिम ब्रेड)’। घर भित्र पस्दै गर्दा ‘हजुरबा’ले आफूसँग आएका सहयोगीहरुलाई सोध्दै थिए- ‘के तिमीहरु सबैले यो स्टिम ब्रेड बनाउन सक्छौँ?’

घर भित्र प्रवेश गरेसँगै उनले पनि एउटा 'हुआमो' बनाए। ती ‘हजुरबा’ हुन् चिनियाँ राष्ट्रपति सि चिनफिङ। पछिल्लो दशक जन्मिएका चिनियाँ बालबालिकाहरु उनलाई 'हजुबा सि' भनेर बोलाउँछन्।

फेब्रुअरी १,  आजबाट चिनियाँ पात्रो अनुसार बाघको वर्ष सुरु भएको छ। चिनियाँहरु पात्रो अनुसार ‘बाघ वर्ष’लाई स्वागत गर्दै छन्। स्प्रिङ फेस्टिवल (बसन्त पर्व) चीनको ठूलो पर्व हो। बसन्त पर्वको ४० दिन चीनमा विश्वकै ठूलो मानव आवतजावत हुने गर्छ। एक अर्ब बढी जनसंख्या यात्रामा निस्किन्छन्। पारिवारिक पुन:मिलनको पर्वको रुपमा रहेको बसन्त पर्वमा चिनियाँ राष्ट्रपति सि सान्सी प्रान्त पुगेका हुन्।

सन् २०१३ मा चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च पद र चिनियाँ राष्ट्रपति बनेसँगै सि हरेक वर्ष बसन्त पर्व मनाउनका लागि विभिन्न गाउँ पुग्ने गर्छन्। सी कहिले इनर मंगोलियाको वर्फिलो सीमा रेखामा सीमा सुरक्षाका लागि खटिएका चिनियाँ सेना 'पीएलए'का जवानहरुसँग पर्व मनाउन पुग्छन् त कहिले सामान्य मजदुरको घरमा पुग्छन्। कहिले बाढीले क्षति पुर्‍याएका बस्तीमा पुगेर उनीहरुको समस्या सुन्छन् सी।

यस वर्षको बसन्त पर्व मनाउनका लागि उनी गत वर्षको विनासकारी बाढीले क्षति पुगेको गाउँ पुगे। त्यहाँको पुन:निर्माणको जानकारी लिए।

गत वर्ष राष्ट्रपति सि त्यस्तै गरी गुइचो प्रान्तको छियान्सी काउन्टी पुगेका थिए। त्यहाँ उनी मियाओ जातिय समुदायको घरमा पुगेका थिए। त्यहाँ उनले चामलबाट बन्ने स्थानीय स्थानीय परिकार-‘हुवाङबा’ बनाए। स्थानीय समुदायको कढाईको जानकारी लिए।

२०२० मा कोभिड-१९ संक्रमणले चीन निषेधाज्ञामा थियो। वुहान लकडाउनमा थुनिएको थियो। त्यससमय राष्ट्रपति सि युनान प्रान्तको थेङचोङ पुगेका थिए। त्यहाँ उनले स्थानीय समुदायसँग वसन्त पर्व मनाए। त्यहाँ उनले किसान लि फासुनको घरमा पुगेर उनीहरुको दैनिक जीवनलाई नियालेका थिए। त्यहाँ उनले 'राइस केक' बनाएका थिए। नयाँ वर्षको स्वागतमा स्थानीय वा जातिय समुदायले बजाउने काठको ड्रम तीन पटक बजाए उनले।

२०१९ मा उनी स्थानीय तहको कार्यकर्ताको घरमा पुगेका थिए। मध्ये बेइजिङको छियानमनमा उनले त्यहाँका सामान्य 'डेलिभरी मेन'सँग बिताए। २०१८ मा भने उनी सिचुआन प्रान्तको डालियन पहाड पुगे। त्यहाँ उनले स्थानीय यी जातिय समुदायका नागरिकहरुसँग भेट गरे। उनीहरुसँग भान्सा गरे। र, स्थानीय अधिकारी तथा गाउँलेसँग गरिबी निवारणका विषयमा छलफल  गरे। 

२०१७ मा उनी हपेइ प्रान्तको एउटा गाउँमा पुगेका थिए। त्यहाँ उनले एक गरिब सु वानको परिवारसँगै बसन्त पर्व मनाए। उनले त्यहाँ ‘डम्पलिङ’ बनाए। उनले त्यहाँको गरिबी निवारणको विषयमा छलफल गर्दै उनीहरुको दैनिकीको विषयमा जानकारी लिएका थिए।

२०१६ मा उनले जियाङ्सी प्रान्तको सनसान गाउँ पुगेर चिवा (स्थानीय परिकार) बनाएका थिए। त्यहाँ उनले शहीद चुओ सिउफाको घरमा बसेका थिए। उनले गरिबी निवारणको प्रगतिको विषयमा स्थानीय पार्टी अधिकारी गर गाउँलेसँग जानकारी लिएका थिए।

सन् २०१५ मा भने उनी साआन्सी प्रान्तको यान’आन पुगेका थिए। यो गाउँ उनी युवा अवस्थामा काम गरेको गाउँ थियो। उनले त्यहाँका आफ्ना पुराना सहयात्रीसँग भेट गरे र विकास निर्माणको विषयमा जानकारी लिएका थिए। २०१४ मा इनर मंगोलिया स्वशासित क्षेत्रको एक गाउँमा ७४ वर्षिय वन विभागका कामदारको घरमा पुगे। एउटा साँघुरो घरमा पाँच जनाको परिवार बस्न समस्या भइरहेको बारे जानकारी लिए।     

सन् २०१३ मा उनी कान्सु प्रान्तको युआनकुतुई गाउँमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका जेस्ट सदस्य मा काङको घर पुगेका थिए। त्यहाँ पुग्दा उनले खानेपानीको समस्या देखेसँगै स्थायी खानेपानीको स्रोत पहिचान गरी समस्या समाधानको प्रतिवद्धता जनाएका थिए। उनले त्यहाँ किसानहरुसँगसमेत भेट गरेका थिए।

चीनको सत्तामा आएसँगै यो १० वर्ष राष्ट्रपति सि हरेक वर्ष नयाँ वर्ष/बसन्त पर्व मनाउन कुनै न कुनै गाउँ पुग्ने गरेका छन्।  

‘यो नयाँ वर्षका दिन म जनताको अवस्थाको बारेमा सोच्ने गर्छु,’ राष्ट्रपति सिले भन्ने गरेका छन्, ‘उनीहरु कसरी बसेका छन्? के खाइरहेका छन्? के उनीहरुले राम्रोसँग नयाँ वर्ष मनाउन तपाएका छन्? हरेक पटक म जनताको घर मा पुग्छु र मैले उनीहरुलाई केही समस्या त छैन भनेर सोध्ने गर्छु। मलाई लाग्छ की मेरा जनताले सबै कुरा मसँग भन्न पाउनुपर्छ।’

उनी यसरी गाउँ गाउँ पुग्दै गर्दा उनका सहयोगी र सहकर्मीहरु सँगै हुन्छन्। कतिपय ठाउँमा उनलाई प्रश्न गरिन्छन्- ‘प्राध्यापक फङ पनि यहाँ हुनुहुन्छ?’ प्राध्यापक फङ लियुआन राष्ट्रपति सिकी श्रीमति हुन्। उनले सहज रुपमा हाँस्दै जवाफ फर्काउँछन्- ‘उनी आइनन्। उनी घरमा नयाँ वर्षको तयारीका लागि व्यस्त छिन्।’

राष्ट्रपति सि जहाँ जहाँ नयाँ वर्षमा पुगेका छन्। त्यहाँको अवस्थामा परिवर्तन आएको छ। हरेक वर्ष उनी स्थानीयको घरमा पुगेर नयाँ परिकार बनाउने गरेका छन्। ति परिकारहररु व्यवसायिक बनेका छन्।

गत वर्ष मात्र चीनले चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष मनाएको थियो। उक्त अवसरमा चीनले पहिलो सह्रशताव्दी लक्ष्य हासिल गरेको थियो- सबै चिनियाँ नागरिकहरुलाई गरिबीको रेखा माथि उचालेर।

नयाँ वर्षको उपलक्ष्यमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सिले चिनियाँ जनतालाई शुभकामना दिँदै गत वर्ष सम्झना लायक उपलब्धी हात पारे पनि अझै चुनौतीहरु रहिरहेको बताएका छन्। पहिलो सह्रशताव्दी लक्ष्य पूरा भए पनि आधुनिक समाजवादी चीन निर्माणको नयाँ लक्ष्यमा हिँड्न आवश्यक रहेको उनले बताए।

ग्रेट हलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बाघ जनावरहरुको राजा र शक्ति, बल र निडरताको प्रयाय भन्दै चिनियाँ जनता पनि निडर भएर चिनियाँ विशेषतासहितको समाजवादको नयाँ अध्याय कोर्न लागिपर्नेमा विश्वास उनले व्यक्त गरे छन्।

(चिनियाँ सञ्चार माध्यमहरु सिन्ह्वा, सिजिटिन, चाइना डेलीपिपल्स डेलीमा प्रकाशित सामाग्रीको सहयोगमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell