PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आलुको बोरामा अवैध औषधि ओसार्थे बिइङ ह्युमनका सञ्चालक बख्रेल, 'डेट एक्सपायर'माथि गर्थे 'रिलेबलिङ'



सविन ढकाल

आलुको बोरामा अवैध औषधि ओसार्थे बिइङ ह्युमनका सञ्चालक बख्रेल, 'डेट एक्सपायर'माथि गर्थे  'रिलेबलिङ'

काठमाडौं : राजश्व छलीदेखि लागु औषधको कारोबारमा समेत समातिएका दरबारमार्गमा रहेको क्लोदिङ स्टोर बिइङ ह्युमनका संचालक सन्तोष चन्द्र बख्रेल अन्य अपराधका गतिविधिमा पनि संलग्न रहेको खुल्दै गएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले शुक्रवार राजश्व छली गरेर ल्याएका मदिरासहित उनलाई पक्राउ गरेको थियो। बख्रेलले रक्सीमा मात्र होइन म्याद गुज्रिएको ‍औषधीमा समेत रिलेबलिङ गर्ने गरेको खुलेको छ। औषधी व्यवस्थापन विभागले अहिले बख्रेलविरुद् अनुसन्धान गरिरहेको छ।

'उसको पटकपटक औषधीको कारोबारमा नाम आएको छ। औषधीमा रिलेबलिङ गर्ने गरेको जानकारी आएपछि हामीले अनुसन्धान गरिरहेका छौं,' औषधी व्यवस्थापन विभागका प्रवक्ता सन्तोष केसीले भने।

प्रहरीले दुई दिनमा गरेको अनुसन्धानमा बख्रेलले लागु औषध कारोबार समेत गरेको खुलेको थियो। सुत्केरी हुँदा प्रयोग हुने निषेधित औषधी ट्रामाडोल कारोबारमा उनी संलग्न भएको खुलेको हो। महाशाखाले पक्राउ गरेका बख्रेललाई लागु औषध नियन्त्र व्यूरो र ‍औषधी व्यवस्थापन विभागले समेत खोजी गरिरहेको थियो।

लागु औषध नियन्त्रण व्यूरो र औषधी व्यवस्थापन विभागले गरेको संयुक्त अपरेसनमा माघ १३ र १४ गते पाँच जनलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका उनीहरुले नियन्त्रित औषधी ट्रामाडोलको कारोबारमा बख्रेलको संलग्नता रहेको खुलेको थियो।

माघ १३ गते रामेछाप गोकुल गंगा गाउँपालिकाका २५ वर्षीय सुनिल भन्ने निमा दोर्जे शेर्पालाई सिफलबाट नियन्त्रित औषधी ट्रामाडोल ११५ ट्याव्लेट सहित पक्राउ गरिएको थियो। त्यसको भोलिपल्ट बझाङ चैनपुरका २९ वर्षीय उमेश कुमार केसी समातिए। उनको डेराबाट बीस हजार सात सय ट्रामाडोल भेटियो।

अनुसन्धानको क्रममा उमेशलाई अवैध ट्रामाडोल कल्याणकारी मेडिकल हलका संचालक संखुवासभा पाँचखपन घर भएका पेम्वा शेर्पाले दिएको खुल्यो। उनले संचालन गरेको मेडिकलको अनुमति नै अर्काको नाममा लिएर गरेको खुलेको छ।

माघ १४ गते नै ७ चाबहिलस्थित सडक किनारबाट पेम्वा शेर्पालाई अबैध ट्रामाडोल उपलब्ध गराउने नुवाकोटका ३४ वर्षीय राजाराम दवाडीलाई प्रहरीले नियन्त्रणमा लियो।

अनुसन्धानको लहरो तान्दै गर्दा राजारामलाई नियन्त्रित अबैध ट्रामाडोल उपलब्ध गराउने लमजुङ मध्यनेपाल नगरपालिका बद्रीनाथ पौडेललाई नयाँ बजारबाट पक्राउ गर्‍यो। उनीहरुको साथबाट नियन्त्रित औषधीहरु बरामद भयो। उनीहरुकै सुचनाका आधारमा प्रहरीले आइतवार नयाँ बजार खुसिबुँको एक घरमा छापा मारेको थियो। त्यो घरमा बख्रेलले राजश्व छली गरेर राखेको ५० लाख बराबरको समाग्री समेत फेला पारेको थियो। प्रहरीले घरमा नियन्त्रित औषधी लुकाएर राखेको भन्ने जानकारी पाएपछि छापा मार्न पुगेको थियो।

३९ वर्षीय बख्रेल पर्साका हुन् जो अहिले राजधानीको कपनमा बस्दै आएका छन्। लामो समयदेखि उनी लागु औषध र राजश्व छली गरेर भारतबाट सामान ल्याउन गतिविधिमा संलग्न भएको खुलेको छ। बिइङ ह्युमनका तयारी पोशाक लगायतका सामग्री आयात गर्ने नाममा मदिरादेखि कस्मेटिकसम्म ल्याउने गरेको खुलेको छ।

एक वर्षअघि लागु औषध नियन्त्रण व्यूरोले ट्रामाडोल सहित क्षेत्रपाटीबाट केही व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। जुन घटनामा बख्रेल पनि मुछिएका थिए। रवि भनिने भारतीय नागरिक र सन्तोष चन्द्रको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू बिक्री वितरण गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

प्रहरी र औषधी व्यवस्थापन विभागले नियन्त्रणमा लिएका पाँच जनाले नै बख्रेलको योजनामा औषधी ल्याएको र बिक्री गरेको बयान दिएका छन्। २० हजार ७ सय पिस हुने एक बक्सामा १ लाख ५० हजार रुपैयाँ लिएर बिक्री गरेको खुलेको छ। त्यही सामान अर्काले २ लाख रुपैयाँमा बिक्री गर्ने गरेको खुलेको हो। बख्रेलले भारतबाट आलुको बोरामा औषधी ल्याएको अनुसन्धानमा देखिएको छ।

'मुख्य योजना नै बख्रेलको देखिन्छ। भारतबाट आलुको बोरामा लुकाएर औषधी ल्याएको देखियो,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

२०७६ साल पुस २८ गते प्रहरीले क्षेत्रपाटीबाट १४ लाख ७४ हजार ट्रामाडोल ट्याब्लेट बरामद गरेको थियो। जुन बख्रेलकै भएको अनुसन्धानमा देखिएको थियो। लागू औषध नियन्त्रण व्यूरोले थप अनुसन्धानको लागि फाइल र समातिएका व्यक्ति औषधी व्यवस्थापन विभागलाई बुझाएको थियो। तर, त्यसपछि पनि उनीमाथि खासै कारवाही भएन।

ट्रामाडोल सुत्केरीलाई प्रयोग गर्ने औषधि हो। तर, लागु औषध प्रयोगकर्ताले अन्य औषधीमा मिसाएर यसलाई लागु औषधका रुपमा प्रयोग गर्ने गरेका छन्।

बलिउड स्टार सलमान खानको कम्पनीले सञ्चालन ल्याएको क्लोदिङ स्टोर हो बिइङ ह्युमन। गत मंसिरमा बिइङ ह्युमनका म्यानेजर पनि पक्राउ परेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले स्टोरका म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिएको थियो। उनलाई पसलमा रहेको रकमको स्रोत खुलाउन नसकेको उक्त स्टोरबाट १ हजार दरका ४९ बण्डलमा ४९ लाख र ५ सय दरका १०० वटाको ४१ वटा बण्डलमा बीस लाख पचास हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको थियो।

बख्रेल पक्राउ परेपछि खुल्दै आएको अपराधले बिइङ ह्युमन पनि अनुसन्धानको घेरामा तानिएको छ। उनीमाथि राजश्व अनुसन्धान विभागले पनि अनुसन्धान अगाडि बढाएको छ। त्यस्तै, नियन्त्रित र रिलेबलिङ औषधीको आयात गरेको अभियोगमा औषधी व्यवस्थापन विभागले पनि अनुसन्धान गरिरहेको छ। यता अन्य अवैध गतिविधिमा पनि उनको संलग्नता हुनसक्ने आशंकामा महानगरीय अपराध महाशाखाले पनि थप अनुसन्धान अगाडि बढाएको छ। बख्रेलले भित्र्याएका रक्सीको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालामा पठाइएको छ।

यी सबै प्रकरणले बख्रेलमाथि सम्पत्ति शुद्करण विभागबाट पनि उनीमाथि अनुसन्धान हुनुपर्ने संकेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell