PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

वाग्मती प्रदेशसभाको स्थापना दिवस : मुख्यमन्त्री र पूर्व मुख्यमन्त्रीबिच आरोप प्रत्यारोपमै सकियो कार्यक्रम



निशा गुरुङ

वाग्मती प्रदेशसभाको स्थापना दिवस : मुख्यमन्त्री र पूर्व मुख्यमन्त्रीबिच आरोप प्रत्यारोपमै सकियो कार्यक्रम

हेटौँडा : वाग्गती प्रदेशसभा स्थापना भएको मंगलवार चारवर्ष पूरा भएको छ। प्रदेशसभा स्थापनाको सन्दर्भ पारेर आयोजित कार्यक्रममा सत्ता पक्ष र प्रतिपक्षबीच आरोप प्रत्यारोप भएको छ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै पूर्व मुख्यमन्त्री तथा प्रतिपक्षी दलका नेता अष्टलक्ष्मी शाक्यले नमुना प्रदेश बनाउन संसद्मा सबैले मर्यादित भएर काम गर्नुपर्ने बताइन्। उनले नमुना प्रदेश बनाउनको लागि संस्कारयुक्त, मर्यादित हुँदै अनुसासित हुनुपर्ने महसुस भएको टिप्पणी गरिन्।

उनले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई आरोप लगाउँदै हालसम्म आइपुग्दा धेरै योजनाहरु कटौती भएको भन्दै संसदिय अभ्यासमा यस्तो नसुहाउने भएकाले छलफल गरेर मात्रै योजना कटौती गर्नुपर्ने बताइन्।

‘प्रदेशमा अमर्यादित कामहरु भइरहेको छ। ती कुराहरुलाई सच्याउनुपर्ने अवस्था छ। राष्ट्रिय गौरावका योजनाहरु ह्टाएको कुराहरु म सुन्दै छु। त्यसैले लोकतान्त्रिक वातावरणबाट छलफल गर्ने मर्यादित व्यवहार गर्ने र एक आपसमा हार्दिकतापूर्ण ढंगले विचारविमर्श गर्ने नै मुख्य कुराहरु मलाई लागेको छ,’उनले भनिन्।

उनले स्थानीय तहका सरकारको समयावधि सकिन लाग्दा हालसम्म पनि केन्द्रीय सरकारले निर्वाचनको मिति तोक्न नसकेको भन्दै अहिलेको सरकार कमजोर हुँदै गएको टिप्पणी गरिन्। यसले लोकतन्त्र पनि कमजोर हुँदै जाने भन्दै उनले सरकार खाली नहुँदै समयमै स्थानीय तहको निर्वाचन गर्न केन्द्रीय सरकारलाई आह्वन गरिन्।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलले प्रतिपक्षी दलका नेता अष्टलक्ष्मी शाक्यलाई कुन-कुन योजनाहरुलाई राष्ट्रिय गौरवको मानिएको हो भन्दै प्रश्न गरे। उनले प्रतिपक्षी दलका नेता शाक्यलाई अध्ययन गरेर मात्रै बोल्न आग्रह गरे।

‘म २४ वर्ष केन्द्रीय संसदमा बसेर अनुभव गरेको व्यक्ति हुँ। लामो समयसम्म सचेतक, प्रमुख सचेतक, स्थानीय विकासमन्त्री जस्ता धेरै जिम्मेवारी निभाएको मान्छे हुँ। त्यसैले कसैले मलाई संस्कार र मर्यादा भन्ने कुरा सिकाइरहनु पर्दैन,’ उनले भने ।

मुख्यमन्त्री पाण्डेले प्रतिपक्षका नेता शाक्यलाई संस्कार र मर्यादाको कुरा गर्नेले संसद्मा आफ्नो कुरा बोली सकेर मुख्यमन्त्रीले उत्तर दिन आउँदा चाँहि हिँड्ने संस्कार कहाँबाट शुरु भयो भन्दै प्रश्न गरे।

‘म संस्कार र मर्यादा इमान्दारीपूर्वक पालना गर्नका लागि प्रतिपक्षी दलका नेता अष्टलक्ष्मी शाक्यसँग हात मिलाउन अहिले पनि तयार छु। लम्काउनुस् हात कस्तो संस्कार बनाउनुपर्छ र कस्तो मर्यादा कायम गर्नुपर्छ हामी ध्यान दिउँ। संसद्लाई बलियो बनाउने कोसिस गरौँ।’

उनले संविधानले दिएको अधिकार अनुसार नै मन्त्रालय फुटाएको बताउँदै केही समयमै काम गरेर देखाउने समेत बताएका थिए।

समारोहको अवसरमा सभाको नियमित वैठकमा उपस्थित हुने छ जना सांसद र कर्मचारीलाई सम्मान गरिएको थियो।

वाग्मती प्रदेशसभाको चार वर्ष

वाग्मती प्रदेशसभाको २०७४ साल माघ १८ गते पहिलो बैठक बसको थियो। प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित एक जना प्रदेशसभा सदस्यको निधनभएसँगै हाल प्रदेशमा १०९ जना प्रदेशसभा सदस्यहरु छन्।

हाल प्रदेशसभामा नेकपा (एमाले)का ४३ जना, नेकपा (माओवादी केन्द्र)का २३ जना, नेपाली कांग्रेसका २२ जना, नेकपा (एकीकृत समाजवादी)का १३ जना, विवेशील साझा पार्टीका ३ जना, नेपाल मजदुर किसान पार्टीका २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना र जनता समाजवादी पार्टीका १ जना सदस्यहरु छन्।

प्रदेशमा हालसम्म तीन जना मुख्यमन्त्रीले नेतृत्व गरिसकेका छन्। विसं २०७४ सालदेखि हालसम्म प्रदेशसभाका ८ वटा अधिवेशनहरु सम्पन्न भइसकेका छन् भने नवौँ अधिवेशन चलिरहेको छ। प्रदेशसभा बाट २०७६ पुष २७ गते प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम वाग्मती प्रदेश कायम भएको थियो। प्रदेशसभा सचिवालयलाई डिजिटलाइजेसन गर्ने कार्य अन्तर्गत डिजिटल डिस्प्लेहरु जडान गरिएका छन्।

प्रदेशसभामा प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहका छन्। प्रदेशसभाको नयाँ भवन निर्माणको कार्य अन्तिम चरणमा रहेको छ।

प्रदेशमा चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ६६ वटा विद्येयकहरु दर्ता भएकामध्ये ६१ वटा पारित भएका छन्। ३ वटा अध्यादेशलाई ऐन संशोधनले प्रतिस्थापन गरिएको छ भने ५ वटा विद्येयकहरु पारित हुन बाँकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell