PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

अर्थ समितिमा उठ्यो पुन: जनगणनाको माग, सांसदले नै भने : मेरो घरमा गणक आएर एक पटक पनि सोधेनन्



पहिलोपोस्ट

अर्थ समितिमा उठ्यो पुन: जनगणनाको माग, सांसदले नै भने : मेरो घरमा गणक आएर एक पटक पनि सोधेनन्

काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सिंहदरवारमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे अनुसार जनगणना नभएको उल्लेख गर्दै पुन:जनगणना गर्न माग गरेका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रिय तथ्यांक विभागसँग माग गरे।

'काठमाडौंमा जहिले पनि बसाईसराई बढी हुन्छ। अरु जिल्ला बढने र काठमाडौं नबढने किन भयो ? कोभिडका कारण घर गएको बेला या अन्य कुनै कारणले नभटेर हो कि?,' उनले प्रश्न गरे, 'केही त ‌औचित्य हुनु पर्‍यो नि। कोभिडका कारण विद्यार्थीहरु बसेनन् कि यहाँ ? नत्र भने यो तथ्य मिलेन।'

यस्तै, कांग्रेस सांसद राईले सही तरिकाले जनसंख्याको तथ्यांक नआएको भन्दै पुनः जनगणना गर्न सरकारसँग माग गरेकी छिन्।

'विदेशमा गएको नेपालीहरुको जनगणना गर्ने कार्य योजना के छ?' उनले प्रश्न गरिन्।

उनले आफ्नै घरमा गणक नआएको भन्दै भनिन्,'मेरो घरमा आएर एक पटक पनि सोधिएन। मेरो परिवारको कसैसँग कुनै पनि कर्मचारी आएर सोधपुछ गरेको छैन।'

उनले राज्यको उद्देश्य र जनताले चाहेजस्तो यो गणना नै नभएको दाबी समेत गरिन्।

यता, केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले भने सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताए। उनले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell