PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

एमसीसीबारे सत्तारुढ पार्टीले साझा धारणा तय गर्न नसक्नु दु:खद : जितेन्द्र सोनल



राधेश्याम पटेल

एमसीसीबारे सत्तारुढ पार्टीले साझा धारणा तय गर्न नसक्नु दु:खद : जितेन्द्र सोनल

वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले सत्तारुढ गठबन्धनका पार्टीहरुको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे साझा धारणा र दृष्टिकोण बनाउन नसक्नु दुर्भाग्यपूर्ण भएको बताएका छन्। उनले संसदबाट एमसीसी पास गर्ने अन्तिम बटमलाइनसम्म पनि साझा धारणा तय गर्न नसक्नु दुःखद् भएको बताए।

‘हामी केन्द्र र प्रदेश सरकारको प्रतिपक्षमा छौँ। तर पनि एमसीसी देशको लागि हितकर छ भनेर एमसीसी पास हुनुपर्छ भन्नेमा समर्थन गरेका छौँ’, उनले भने, ‘तर, सत्ता गठबन्धनमा रहेका पार्टीहरुले विभिन्न अड्कलबाजी गरेर एमसीसी पास गरेनन्, आलटाल गरे। जसले देशलाई क्षतितर्फ धकेलिरहेको छ।’

उनले एमसीसी पास भए देश समृद्धितर्फ जाने कुरामा दुई मत नरहेको दाबी गरे। भने,‘देश विकासशील छ। एमसीसीले दिएको अनुदानलाई कहाँ र कुन योजनामा खर्च गर्ने हो भन्ने त्यो नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयमा निहित छ’, उनले भने, ‘त्यसकारण देश विकास गर्न र समृद्धि ल्याउन पनि अन्तर्राष्ट्रिय दातृ निकायसँग समन्वय गरेर अगाडि बढ्ने कार्यक्रम हो एमसीसी।’

'एमसीसी पास भए देशमा अमेरिकी सेना आउँछ,' 'देश कब्जा गर्छ र जनतालाई गुलाम बनाउँछ' लगायत कुराहरु कपोलकल्पित भएको उनले बताए।

उनले अन्तर्राष्ट्रिय संघसंस्थाहरुको विभिन्न सन्धी-सम्झौता फरक हुने भएकोले एमसीसीले तय गरेको नियम र शर्तअनुसार नेपाल सरकार अगाडि बढ्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell