PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

चार जनाले 'रातो कार्ड' ब्यहोरेको तनावपूर्ण मैत्रीपूर्ण खेलपछि मरिससका प्रशिक्षकले भने: हाम्रा खेलाडीलाई प्रोभोक गरियो



पहिलोपोस्ट

चार जनाले 'रातो कार्ड' ब्यहोरेको तनावपूर्ण मैत्रीपूर्ण खेलपछि मरिससका प्रशिक्षकले भने: हाम्रा खेलाडीलाई प्रोभोक गरियो

काठमाडौँ: नेपालसँगको दोस्रो मैत्रीपूर्ण खेलमा पराजय ब्यहोरेपछि मरिससका प्रशिक्षक मारिइ पास्कल टोनीले आफ्ना खेलाडीलाई प्रोभोक गरिँदा खेल तनावपूर्ण बनेको प्रतिक्रिया दिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलको दोस्रो हाफ तनावपूर्ण बनेको थियो।

'हामीले राम्रो खेल्यौँ। केही स्कोरका अवसर पनि बनायौँ, तर, त्यसमा चुक्यौँ,' प्रशिक्षक टोनीले भने, 'मेरा खेलाडीलाई प्रोभोक गरियो र उनीहरुले रेड कार्ड पाए। लामो समय अन्तर्राष्ट्रिय खेल नखेल्दा अनुभवको कमी रह्यो।'

उनले अझै आफ्ना खेलाडी कोभिड संक्रमित रहेको भन्दै नेपालले आफ्नो घरेलु मैदानमा राम्रो प्रदर्शन गरेको बताए।

'नेपालले यहाँ खेलिरहेको थियो। यो मैत्रीपूर्ण खेल थियो। म रेफ्रीबारे भन्न चाहन्न,' उनले भने, 'म मेरा खेलाडीको जिम्मा लिन्छु। उनीहरु प्रोभोक भए। सबैले जित्न चाहन्थे, त्यसैले खेल आक्रामक भयो।'

तनावपूर्ण खेलकाबीच नेपाली टोलीका पुजन उपरकोटीले ८० औं मिनेटमा रातो कार्ड ब्यहोरेका थिए भने अफिसियल विकास मल्लले पनि ८१औं मिनेटमा रातो कार्ड ब्यहोरेका थिए। नेपाली टिमका म्यानेजर मधुसुदन उपाध्यायले पनि रेड कार्ड पाए। 

मरिससका एडरेइन बोल्टर र इमानुअल फुलचुन्दले ८० र ८४ औं मिनेटमा रेडकार्ड ब्यहोरेका थिए।

नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भने यतिको अवस्थालाई खेलमा सामान्य रुपमा लिनुपर्ने बताए।

'म्याचमा धेरै टेन्स भयो। हामी टेन्स अवस्थामा हुनुहुँदैन्थ्यो। जब म्याच सकियो सबै कुरा सकियो। म खुसी छु,' उनले भने, 'नर्मल हो खेलमा यतिको हुन। रिस, आक्रोश सबैमा हुन्छ। कहिलेकाहीँ यस्तो हुन्छ।'

मरिससँगको दुबै खेलमा नेपालले १-० गोल अन्तरले जित निकाल्यो। पहिलो खेलमा विमल घर्ती मगरको गोल र दोस्रो खेलमा सुजल श्रेष्ठको गोल नेपालको जितका लागि निर्णायक बन्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell