काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मरिससलाई १-० गोल अन्तरले हरायो। यसअघि शनिबार सम्पन्न खेलमा पनि १-० गोलअन्तरकै जित निकालेको नेपालले लगातार दुई जित निकाल्न सफल रह्यो। पछिल्लो पटक साफ च्याम्पियनसिपमा पराजय ब्यहोरे यता नेपालले लगातार दुई जित निकालेको हो।
सोमबार सम्पन्न खेलको पहिलो हाफको सुरुमै नेपालले अग्रता लिएको थियो। आशीष लामाको प्रहारलाई पुनन उपरकोटीले सुजल श्रेष्ठलाई पास दिँदा श्रेष्ठले चलाखीपूर्ण गोल १० औं मिनेटमा गरेका थिए। लगत्तै खेलमा फर्कने अवसर मरिससले पाएको थियो। नेपालका डिफेन्डर दिनेश राजबंशीले मरिससका कप्तान एन्डी सोफीलाई फउल गरेपछी पेनाल्टीको अवसर मरिससले पाएको थियो। तर १२औं मिनेटमा सोफिले गरेको पेनाल्टी प्रहारलाई कप्तान किरण चेम्जोङले बचाइदिए। खेलको २४औं मिनेटमा मरिससका फर्नान्डो ज्याक्सन र ३९औँ मिनेटमा जोनाथन स्पेभिल्लेले पहेलो कार्ड ब्यहोरे।
.jpg)
दोस्रो हाफ भने सुरुबाटै तनावपूर्ण रह्यो। खेलाडीबीच त धक्कामुक्की भयो नै अफिसियल समेत झगडा गर्न पुगे। ६१औँ मिनेटमा भासहिस्ट कुलकुट्टा र कप्तान एन्डी सोफीले पहेलो कार्ड ब्यहोरे भने नेपालका सुमन लामालाई पनि रेफ्री नवीन्द्र महर्जनले पहेलो कार्ड देखाइदिए। लगत्तै पाएको मनीष डाँगीको प्रहार गोलपोस्टमाथिबाट गएको थियो। त्यस्तै ६४औँ मिनेटमा मरिससका खेलाडीलाई बलले हानेपछि पुजन उपरकोटी पहिलो पहेलो कार्ड ब्यहोरेका थिए। उता मरिससका इमानुअल फुलचुन्दले ६२औँ मिनेटमा कार्ड ब्यहोरेका थिए। ६५औँ मिनेटमा अन्जन विष्टको पासमा पाएको अवसरमा डाँगी चुकेका थिए।
.jpg)
त्यस्तै एडरेइन बोटलरले ७९औँ मिनेटमा पहेलो कार्ड ब्यहोर्दा ८० औँ मिनेटमा दोस्रो पहेलो कार्ड ब्यहोरेका पुजन उपरकोट रेडकार्डसँगै मैदानबाट बाहिरिए। उनीसँगै घम्साघम्सीमा उत्रिएका अर्का खेलाडी एडरिएन बोल्टर पनि रेडकार्ड खाँदै बाहिरिँदा ८० मिनेटमा दुबै टोली १०/१० खेलाडीमा समेटिए। बोल्टरले ७९ औँ मिनेटमा पहेलो कार्ड पनि ब्यहोरेका थिए। ८१औँ मिनेटमा नेपालका गोलकिपर प्रशिक्षक विकास मल्ल घम्साघम्सी गर्न पुगेपछि रेफ्री महर्जनले रेड कार्ड दिए। तनावको स्थितिमा खेल करिब ५ मिनेट रोकिन पुगेको थियो।
.jpg)
८४औं मिनेटमा फुलचन्दले दोस्रो पहेँलो कार्ड ब्यहोर्दै मैदानबाट बाहिरिँदा मरिसस ९ खेलाडीमा समेटियो। सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका सन्तोष तामाङले पनि इन्ज्युरी समयमा पहेँलो कार्ड भेटे।
खेलको निर्धारित समय सकिन करिब ५ मिनेट बाँकी छँदा बत्ती गएपछि रंगशालाको फ्लडलाइटमा मधुरोमात्र देखिने अवस्था आयो। केहीबेर खेल रोके पनि त्यसपछिका खेल मधुरो बत्तीमै खेलाइएको थियो।

आजको खेलमा ११ वटा पहेँलो कार्ड र ४ वटा रेडकार्ड देखाइएको थियो।
खेलमा भएको तनावबारे मरिससका प्रशिक्षक मारिइ पास्कल टोनीले आफ्ना खेलाडीलाई प्रोभोक गरिएको प्रतिक्रिया दिएका थिए।
'हामीले राम्रो खेल्यौँ। केही स्कोरका अवसर पनि बनायौँ, तर, त्यसमा चुक्यौँ,' प्रशिक्षक टोनीले भने, 'मेरा खेलाडीलाई प्रोभोक गरियो र उनीहरुले रेड कार्ड पाए। लामो समय अन्तर्राष्ट्रिय खेल नखेल्दा अनुभवको कमी रह्यो।'
नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भने खेलमा यो सामान्य प्रक्रिया भएको भन्दै यसलाई 'नर्मल' रुपमा लिएको बताए।
'म्याचमा धेरै टेन्स भयो। हामी टेन्स अवस्थामा हुनुहुँदैन्थ्यो। जब म्याच सकियो सबै कुरा सकियो। म खुसी छु,' उनले भने, 'नर्मल हो खेलमा यतिको हुन। रिस, आक्रोस सबैमा हुन्छ। कहिलेकाहीँ यस्तो हुन्छ।'
