PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

अमेरिकाले जबर्जस्ती युद्धतिर धकेल्दै गरेको पुटिनको आरोप



पहिलोपोस्ट

अमेरिकाले जबर्जस्ती युद्धतिर धकेल्दै गरेको पुटिनको आरोप

युक्रेनको विषयमा अमेरिकाले जबरजस्ती युद्धतिर धकेलिरहेको आरोप रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले लगाएका छन्।

युक्रेनको विषयले युरोपमा तनाव कायम रहेको केही सातापछि मात्रै उनको महत्त्वपूर्ण अभिव्यक्ति आएको हो। उनले सोझै अमेरिकाले युद्धका लागि उक्साइरहेको टिप्पणी गरेका हुन्।

युरोपमा नाटो गठबन्धनमा रसियाको चासोलाई अमेरिकाले बेवास्ता गरिरहेको आरोप पनि लगाएका छन्। 

रसियाको सेना युक्रेनको सीमामा तैनाथ भएसँगै सुरु भएको तनाव घट्ने संकेत देखिएको छैन। केही साता अघिमात्रै रसियाले करिब १ लाख सैनिकलाई युक्रेनको सीमामा तैनाथ  गरेको छ। हतियार, ट्याङ्कसहितको ट्रुप सीमामा तैनाथ भएपछि तनाव थप बढेको हो।

यता रसियाले भने पश्चिमाले लगाएको आरोपको लगातार खण्डन गर्दै युक्रेनमाथि सैनिक हस्तक्षपको विषयलाई इन्कार गर्दै आएको छ। आठ वर्षपछि रसिया र युक्रेनबिच तनावको अवस्था आएको भन्दै अमेरिका र युरोपेली मुलुहरुले रसियाको विरोध गर्दै आएका छन्।

युक्रेन सरकार सबैतिरबाट असफल भएको भन्दै त्यहाँ शान्ति स्थापना गर्न नसकेको आरोप रसियाले लगाउँदै आएको छ।

यसैबिच युक्रेनका राष्ट्रपति भोलोदमिर जिलेनेस्कीले त्यहाँ युद्ध भयो भने त्यो रसिया र युक्रेन बिचको नभइ युरोपकै युद्ध हुने बताएका छन्। 

रसियाका राष्ट्रपति पुटिनले मस्कोमा हंगेरीका प्रधानमन्त्री भिक्टर अर्वनसँग कुराकानीपछि भने, 'अमेरिका युक्रेनको सुरक्षाको विषयमा चिन्तित देखिएको छैन। उसलाई रसियाको विकास रोक्नेमात्र ध्येय छ। यस्तोमा युक्रेन औजारका रुपमा प्रयोग मात्र हुँदैछ अमेरिकी लक्ष्यका लागि।'

अमेरिका र रसियाबिचको चीसो सम्बन्ध नयाँ भने होइन। शितयुद्धलाई धेरैले विर्सिएका छैनन्। साम्यवादी सोभियत संघभित्र महत्वपूर्ण मुलुक थियो युक्रेन। 

पूर्वी युरोपको सुरक्षाको विषयलाई रसियाले सधैं महत्त्वका साथ उठाउने गरेको भए पनि अमेरिका र पश्चिम मुलुकले चासो नदिएको उसको तर्क रहँदै आएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell