
काठमाडौं : नेपाल सरकारले अवैध घोषणा गरेको क्रिप्टो करेन्सी कारोबार गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले न्यूरोडबाट ३० वर्षीय रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारीलाई नियन्त्रणमा लिएको हो।
अधिकारीले प्रयोग गर्ने मोबाइलमा डेढ करोड रुपैयाँ बराबरको क्रिप्टोको कारोबार भएको खुल्न आएको एसपी सन्तोष सिंह राठौरले जानकारी दिए।
'यो मोबाइलमा खेल्ने कारोबार हो। त्यसैले नगद भन्दा पनि मोबाइलमा डेढ करोड बराबरको कारोबार भएको देखिएको हो,' एसपी राठौरले भने।
अधिकारीको काठमाडौंमा दुई वटा फेन्सीको पसल भएको पनि खुलेको छ। उनीसँग क्रिप्टोमा जोडिएका अन्य मानिसको पनि खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
महानगरीय अपराध महाशाखाको टोलीले माघ ६ गते क्रिप्टो करेन्सीको कारोबार गरेको अभियोगमा ३ जनालाई नियन्त्रणमा लिएको थियो। राजन भट्टराई, विशाल श्रेष्ठ र दीपेशराज श्रेष्ठलाई पक्राउ गरिएको थियो। राजन भट्टराईले हालसम्म ९ सय ७५ जना व्यक्तिसँग १ हजार ९ सय २६ पटक कारोबार गरेको देखिएको छ।
जिल्ला अदालत काठमाडौंमा ३७ करोड बिगोसहित कैलालीका दिनेश खड्का सहित चार जना बिरुद्ध मुद्दा दर्ता भइसकेको छ। पछिल्लो समय काठमाडौं उपत्यकाभित्र क्रिप्टो र अनलाइन जुवासँग जोडिएका मानिस धमाधम पक्राउ हुने थालेका छन्।
पुस १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले क्रिप्टोमा प्रयोग हुने ३० वटा डिभाइस समेत बरामद गरेको थियो। अहिलेसम्म यो डिभाइस कसले मगायो भन्ने खुलेको छैन।