
काठमाडौं : कोरोना भाइरस संक्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः संचालन गरिने भएको छ। अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः संचालन गर्न लागेको हो। माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्ण पौडेलका अनुसार कोरोना जोखिमका कारण बन्द गरिएको सेवा संचालनमा ल्याउन लागिएको हो।
'अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप घटेसँगै स्थगित गरिएका सेवा संचालन गर्न लागिएको हो' उनले भने।
चिकित्सक, स्वास्थ्यकर्मी संक्रममित हुने क्रम बढेपछि अत्यावश्यक सेवाका लागि जनशक्ति कम भएकाले यी सेवा स्थगित गरिएको थियो।
अस्पतालले सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई पूर्णपालना गर्न आग्रह समेत गरेको छ। अस्पतालमा हाल ४१ जना कोरोना संक्रमित उपचाररत छन्।