PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

सरकारको कामबारे पार्टीमा समीक्षा हुने भन्दै विश्वप्रकाशले भने : यो सरकारसँग सबै कुराको अपेक्षा नगर्दा हुन्छ



पहिलोपोस्ट

सरकारको कामबारे पार्टीमा समीक्षा हुने भन्दै विश्वप्रकाशले भने : यो सरकारसँग सबै कुराको अपेक्षा नगर्दा हुन्छ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन्। शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षासँगै सरकारलाई दिशानिर्देश गरिने समेत बताए।

'सरकारबाट केही कमजोरी भएका छन्। त्यसलाई कसरी सच्याउन सकिन्छ भनेर कार्यसम्पादन समितिको बैठकमा छलफल हुनेछ। सरकारको कामलाई अझ सुधार गर्दै गति बढाउनका लागि निर्देशन दिनेछ' उनले भने, 'जनताको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा सरकारलाई ध्यानाकर्षण गराइनेछ।'

शर्माले कोभिड–१९ विरुद्धको खोप अभियानलाई महाअभियानकै रुपमा संचालन गर्नका लागि पनि सरकारलाई घच्घचाउने समेत बताएका छन्।

उनले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार विशेष परिस्थितिमा बनेको भन्दै सरकारबाट धेरै अपेक्षा नराख्न नागरिकलाई आग्रह गरेका छन्।

'संविधानविपरित कदम चालिएको र लोकतान्त्रिक प्रक्रियालाई अवरुद्ध गर्दै संसदलाई विघटित गरिएको विशिष्ट परिस्थितिमा यो सरकार बन्यो। जनताले सरकार बाहिर बस्न भनेर जनमत दिएपनि नचाहँदा, नचाहँदै सरकारको नेतृत्व गरेर जानुपरेको छ,' शर्माले भने।

संविधान अनुसार सरकार चलेको/नचलेको र जनतासँग प्रत्यक्ष सरोकार राख्ने सवालमा सरकारको समीक्षा हुनुपर्ने भन्दै उनले थप भने, 'जनतालाई पनि के आग्रह गर्छौ भने यो सरकारसँग सबै कुरा अपेक्षा नगर्नुस्।'

उनले महामारीबाट जनताको जीवन रक्षा गर्ने र निर्वाचन सम्पन्न गराउनु सरकारको मुख्य दायित्व भएको बताए। जनताले यसबारेमा पनि समीक्षा गर्नुपर्ने उनले बताए।

शर्माले कार्यसम्पादन समितिको बैठकले पार्टीको सबै तहलाई व्यवस्थित बनाउने र पार्टीका विभागहरु बनाउने दिर्शातर्फ अघि बढ्ने पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell