PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एमसीसीको चेपमा राजनीतिक गठबन्धन : शंकै शंकाको बिचमा नेताहरु भन्छन् - टुट्दैन



विधुर ढकाल

एमसीसीको चेपमा राजनीतिक गठबन्धन : शंकै शंकाको बिचमा नेताहरु भन्छन् - टुट्दैन

काठमाडौं : सत्तारुढ गठबन्धन बिच एमसीसी र स्थानीय तहको निर्वाचनलाई लिएर मतभेद सुरु भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्ने गरी निर्वाचन आयोगसँग परामर्श गर्दै तयारी थालेपछि सत्तारुढ गठबन्धन बिच किचलो सतहमा आएको हो। स्थानीय तहको निर्वाचनमात्र होइन, सत्तारुढ गठबन्धन बिच एमसीसीको विषयलाई लिएर पनि किचलो बढ्न थालेको छ।

प्रधानमन्त्री देउवाले संसदको चालु अधिवेशन मार्फत् नै एमसीसी सदनबाट पारित गर्ने तयारी गर्दै छलफललाई तीब्रता दिएका छन्। यसरी प्रधानमन्त्री देउवाले तयारीलाई घनिभूत बनाउँदा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता असन्तुष्ट बनेका छन्।

देउवाको तयारीसँगै सत्तारुढ प्रमुख दुई दलले यसलाई अगाडि बढाउन नहुने अडान कायम राखेका छन्।

एमसीसीको विषयमा रिपोर्ट बुझाउन भन्दै गठबन्धनले कार्यदल नै बनाएको छ। झलनाथ खनालको संयोजकत्वमा रहेको कार्यदलमा एमसीसीका हस्तक्षरकर्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन्।

यस समितिका संयोजक खनालले रातोपार्टीसँगको एक अन्तर्वार्तामा तत्कालीन केपी शर्मा ओली सरकारले एमसीसी सँग सम्बन्धित इन्भाइरोमेन्टल एण्ड सोसियल म्यानेजमेन्ट प्लान, सोसियल जेनेरल इन्टिग्रेसन प्लान, इक्युपमेन्ट एजेन्ट एग्रिमेन्ट, प्रोजेक्ट कोअपरेशन एग्रिमेन्ट, डीपीआर अफ ट्रान्समिसन लाइन प्रोजेक्ट, डीपीआर अफ रुट प्रोजेक्ट, स्टेट पार्टनरसीप एग्रिमेन्टलगायतका ९ वटा दस्तावेज फेला पारेको र अध्ययनका लागि समय लाग्‍ने बताएका थिए। उनले अहिलेकै अवस्थामा एमसीसी पारित हुन नसक्ने अडानमा आफ्नो पार्टी यथावत रहेको बताएका छन्।

माघ १६ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकबाटै एमसीसी प्रस्ताव अगाडि बढाउने तयारीमा देउवा भए पनि माओवादी केन्द्र र एकीकृत समाजवादीको आग्रहमा सभामुख अग्‍नि सापकोटाले सूचना टाँसेरै १० दिनका लागि बैठक स्थगित गरिदिएका छन्।

त्यसअघि शनिवार साँझ बसेको गठबन्धनको बैठकमा देउवाले जसरी पनि एमसीसी पारित गर्नुपर्ने भन्दै अमेरिका तर्फबाट आएको दवावबारे सुनाएका थिए। देउवाको संकेत बुझेका प्रचण्ड र नेपालले सभामुखलाई बैठक सार्न मनाएको स्रोत बताउँछ।

गठबन्धनले नै एमसीसीको विषयमा कार्यदल गठन गरेको भन्दै एक नेताले अहिले नै प्रधानमन्त्रीले एमसीसी पारित गर्न हतार गर्न नहुने बताए।

प्रचण्ड-नेपाल फकाउने देउवाको प्रयास

त्यसो त प्रधानमन्त्री देउवाले एमसीसी पास गर्नका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरिसकेका छन्। ओलीबाट ‘ओरेन्ज सिग्नल’ पाएका छन् देउवाले। गठबन्धन टुटाउने, सभामुख हटाउने, एकीकृत समाजवादीका सांसदलाई संसदबाट हटाउनेसम्मका प्रस्ताव अगाडि बढाए साथ दिने संकेत पाइसकेका छन् देउवाले।

देउवाले भने यस्तो बाटोमा हिँड्ने जोखिम मोल्न तयार देखिएका छैनन्। त्यसैले उनी गठबन्धनका ठूला दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादीकै साथ लिएर एमसीसी पास गर्न चाहन्छन्।

मंगलवार आफ्ना दूतलाई खुमलटार पठाएर प्रचण्डलाई फकाउने प्रयास गरेका थिए देउवाले। त्यस्तै, बुधवार बिहानमात्र पनि देउवाका दूत बनेर गृहमन्त्री बालकृष्ण खाण कोटेश्वर पुगेर नेपालसँग भेट गरेका छन्।

भेटपछि बुधवार नै नेपाल र प्रचण्ड बालुवाटर पुगेर देउवासँग छलफल गरेका छन्। यतिबेला प्रचण्ड एमसीसीको विषयलाई लिएर ठूलो दबाबमा छन्। एकातिर गठबन्धन भत्किने चिन्ता उनमा छ। अर्कातिर आफ्नो पार्टीको एमसीसी विरोधी ठूलो समूहलाई व्यवस्थापन गर्नुपर्ने चुनौती उनीसामु छ। 

माओवादी केन्द्रको पुसमा सम्पन्न महाधिवेशनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने प्रस्ताव नै पारित गरिसकेको छ। प्रचण्डले सोही अनुरुप देउवासँग आफ्नो अडानलाई राख्दै आएका छन्।

प्रचण्डले कार्यदल गठन गरिसकेपछि कार्यदलको प्रतिवेदन पर्खिन देउवालाई भनेका छन्।

‘हामीले कार्यदल नै गठन गरिसकेपछि हतार गर्नुहुन्न। हामीले गठन गरेको कार्यदल औपचारिकता मात्र होइन। कार्यदलको सुझाव पर्खिनुपर्छ,’ बालुवाटरमा भएको भेटबारे जानकार एक नेताले भने, ‘प्रचण्डजीले प्रधानमन्त्रीलाई यही सुझाव दिइरहनु भएको छ। हतार गर्नुहुन्न भन्ने छ।’

अर्कोतिर अमेरिकाको दवाव सुनाउँदै देउवा पनि प्रचण्ड-नेपाललाई फकाउने रणनीतिमै छन्। यति हुँदाहुँदै देउवासँग प्रचण्ड र नेपाल झस्किएको अर्को मुद्दा हो स्थानीय तहको निर्वाचन। विशेष गरी तीनै तहको निर्वाचन मंसिरमा गर्नुपर्छ भन्दै माओवादी केन्द्र एकीकृत समाजवादी राय राख्दै आएका छन्। शनिवारको बैठकमा पनि यी दलले सोही धारण राखेका थिए। तर, प्रधानमन्त्री देउवाले जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने गरी निर्वाचन आयोगसँग परामर्श गरेपछि प्रचण्ड-नेपाल देउवासँग झस्किएका हुन्। यही बिच देउवालाई मनाउन उनीहरुले संवादलाई अगाडि बढाएका छन्।

शंकै शंकाका बिच गठबन्धन नेताको दाबी : टुट्दैन 

एमासीसी र स्थानीय तहको निर्वानको विषयमा दलबिच एकमत नहुँदा गठबन्धन भत्किन लागेको आशंका बढ्दै गएको छ। मिडियाहरुले पनि सोही अनुरुप समाचार प्रकाशित गर्न थालेका छन्। सभामुखलाई हटाउनेदेखि एमसीसी पारित गर्ने, एमालेलाई साथमा लिने तयारीमा देउवा लागिरहेको रिपोर्ट बाहिर आए पनि यस्ता रिपोर्टहरुलाई गठबन्धनका नेताहरुले अस्वीकार गर्दै आएका छन्।

बुधवार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मिडियाले छरेको भ्रममा नपर्न आग्रह गर्दै गठबन्धन नटुट्ने दाबी गरे।

उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन एक ढिक्का भएर भाग लिने दाबीसमेत गरे।

‘जेठमा स्थानीय चुनाव हुँदैछ। गठबन्धन एकढिक्का भएर जानेछ। कसैले गठबन्धन तोड्नुस् भनेका होलान् तर तिनले चाहँदैमा गठबन्धन टुट्दैन,’ उनले भने।

त्यस्तै, एमसीसीको विषयमा अध्ययन गर्न बनेको कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि गठबन्धन नटुट्ने र एमसीसी अहिले नै पारित नहुने दाबी गर्छन्।

‘यस विषयमा प्रधानमन्त्रीले एमसीसी पास नभए गठबन्धन तोड्छु भन्नु भएको छैन,’ श्रेष्ठले भने, ‘कुनै भ्रममा नपरौं; प्रम देउवाले एमसीसीसँगको सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन। आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन।'

कांग्रेस नेता मीन विश्वकर्माले पनि एमसीसीकै कारण गठबन्धन नटुट्ने विश्वास व्यक्त गरे।

‘एमसीसीका लागि गठबन्धन बनेको होइन। फरक परिस्थितिमा प्रतिगमनलाई परास्त गर्न भनेर गठबन्धन बनेको हो,’ उनले भने, ‘एमसीसीको विषयमा सुरुदेखि नै गठबन्धन दलबिच फरक मत थियो। फरक मत छ भन्ने थाहा हुँदा हुँदै गठबन्धन बनेको हो। फेरि यस विषयमा अध्ययन गर्न कार्यदल गठन पनि त भएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell