PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मैत्रीपूर्ण खेलमा बत्ती किन गयो झ्याप्प? रेड कार्ड : एन्फा, राखेप कि कुलमानलाई?



मुकुन्द घिमिरे

मैत्रीपूर्ण खेलमा बत्ती किन गयो झ्याप्प? रेड कार्ड : एन्फा, राखेप कि कुलमानलाई?

काठमाडौँ: नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेलका क्रममा काठमाडौँ उपत्यकामा विजुली जाँदा दशरथ रंगशालाको आधा बत्ती निभ्यो। निर्धारित समयको खेल सकिन केही मिनेट बाँकी छँदा बत्ती निभेपछि रंगशालामा जेनेरेटरको मधुरो बत्तीमात्र बाँकी रह्यो। तनावपूर्ण बनेको खेलमा घम्साघम्सीपछि रोकिँदै, चल्दै गरेको खेलमा दर्जन बढी कार्डको वर्षा भइसक्दा तातेको माहोलमा बत्ती गइदियो। दर्शक मोबाइलको फ्लास लाइट बाल्न थाले। रंगशालाको फ्लडलाइट बलेका त थिए तर मधुरो। केहीबेर खेल रोकियो र मधुरो बत्तीमै खेल फेरि सुरु भयो र सम्पन्न पनि भयो।

अन्तर्राष्ट्रिय खेल चलिरहँदा पनि बत्तीको व्यवस्थापन गर्न नसकेको भनेर सामाजिक सञ्जालमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई लज्जाको विषय भन्दै गाली पनि निकै आयो। यता एन्फाले भने खेलका क्रममा बत्ती जाँदा जेनेरेटरले आधा बत्तीमात्र बल्ने भएकाले समस्या भएको जनाएको छ।

'तीनवटै जिल्लामै सटडाउन भएको भन्छ प्राधिकरणले। हाम्रो जेनेरेटरले आधा र बाहिरको लाइनले आधा चल्ने सिस्टम छ,' एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, 'जेनेरेटरको बलिराख्यो। बाहिरको लाइन चाहिँ कट्यो। फ्लडलाइटको जिम्मेवारी त हाम्रो हो, अपरेट गर्ने राखेपको इन्जिनियरहरुले हो। त्यसको संरचना नै आधामात्र जेनेरेटरबाट चल्ने र आधा बाहिरको बत्तीले चल्ने छ।'

सदस्य सचिवको विवादमा रन्थनिएको राष्ट्रिय खेलकुद परिषदमा बिहीबारबाट त आन्दोलनकै कार्यक्रम छन्। राष्ट्रिय खेलकुद परिषदको इन्जिनियरिङ सम्बन्धी जनाकार एक कर्मचारीका अनुसार १३औँ दक्षिण एसियाली खेलकुद अघि जेनेरेटरबाटै सबै फ्लडलाइट बाल्न मिल्ने भए पनि त्यसपछि बनाइएको संरचनामै जेनेरेटरबाट सबै लाइट बाल्न नसकिने भएको बताए।

'जेनेरेटरले पुरै बल्दैन। १३औँ सागभन्दा पहिला बल्थ्यो, त्यसपछि चाइनिजले मेन्टिनेन्समा धेरै लाइट राखिदियो। अहिले पुरै भ्याउँदैन,' उनले भने, 'पहिला एउटा पोलमा ५०/५२ वटा लाइट थियो। अहिले ५६ वटा छन्', जानकार एक कर्मचारीले भने।

राखेपको इन्जिनियरिङ हेर्ने रमेश पाठक भने रंगशालामा पुरै बत्ती निभ्ने अवस्था नल्याउनका लागि र फ्लडलाइटमा प्रयोग गरिएको लाइटको नेचरको कारण यस्तो हुने तर्क गर्छन्।

जेनेरेटरबाटै सबैलाइट चल्ने 'रेटेड' क्षमता भए तापनि सबै जेनेरेटरबाट चलाउँदा धान्न नसकेर रंगशालाको सबै लाइट बन्द हुने पनि सम्भावना पनि रहने उनले बताए।

'लाइटको प्रकृति भनेको क्वालिटी राम्रो हुन्छ, एलइडीमा क्लियर हुन्छ त्यो भन्दा पनि यो मेटल हेलाइटको क्वालिटी राम्रो हुन्छ,' उनले थप स्पस्ट पार्दै भने, 'तर यसको एउटा ड्र ब्याक भनेको एकपटक बलेर भित्र तातो भइसकेपछि केही कारणले लाइन झ्वाट्ट गयो भने पनि झ्वाट्ट फ्लक्चुएसन हुँदैन। निभेर फेरि बल्नलाई फेरि चिसो हुनुपर्छ। त्यसका लागि केही समय लाग्छ।'

यसलाई हेर्दा राखेप वा एन्फाको कमजोरीभन्दा पनि प्राविधिक रुपमै कमजोरी भएको देखिन्छ।

चाहे जो होस्: अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल चलिरहँदा स्टेडियमको बत्ती निभेर खेल प्रभावित हुनु भनेको लज्जाकै विषय हो। सन्दर्भलाई हेर्दा एन्फा, राखेप र नेपाल विद्युत प्राधिकरणबीच समन्वयको अभाव प्रस्ट देखिन्छ। मरिसससँगको खेलको हिसाबले भन्ने हो भने आयोजक एन्फा, खेलकुदको शक्तिशाली निकाय राखेप र प्राधिकरणका कुलमान घिसिङलाई पनि रेड कार्ड!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell