युक्रेन र रसियालाई लिएर बढ्दो तनावका बिच अमेरिकाले युरोपमा थप तीन हजार सेना पठाउने निर्णय गरेको छ। अमेरिकाको उक्त निर्णयको रसियाले भने भत्सर्ना गरेको छ। मस्कोले अमेरिकी निर्णयलाई 'विनाशकारी' कदमको संज्ञा दिएको छ। अमेरिकाको यस कदमले तनावलाई थप बढाउने र राजनीतिक समाधानको बाटोलाई कम गर्ने चेतावनीसमेत दिएको बीबीसीले जनाएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा थप सेना परिचालन गर्ने निर्देशन दिएपछि रसियाली विदेश मन्त्रालयका उपमन्त्री एलेक्सजेन्डर ग्रुश्कोले अमेरिकी कदमलाई विनाशकारी र अनुचित भनेका हुन्।
पेन्टागनले दुई हजार सेनाको टुकडी नर्थ क्यारोलिना देखि पोल्याण्ड र जर्मनी पठाउने र जर्मनीमा रहेको एक हजार सेनालाई रोमानिया पठाउने बताएको छ। अहिले एक लाखको हाराहारीमा रसियाली सेना युक्रेनको सीमा नजिक तैनाथ भएका छन्। यद्यपि, उसले युक्रेनलाई नियन्त्रणमा लिने योजनालाई भने अस्वीकार गर्दै आएको छ। पछिल्लो तनाव ८ वर्ष अगाडि रसियाले क्रिमियालाई आफ्नो अधिनमा गाभेपछि बढ्दै गएको हो।
मस्कोले युक्रेन सरकारलाई मिन्स्क सम्झौता कार्यान्वयन गर्न असफल भएको आरोप लगाउँदै आएको छ। यो सन्धी पूर्वी क्षेत्रमा शान्ति स्थापनाका लागि गरिएको थियो।
यसअघि नै यस क्षेत्रमा ८ हजार ५०० अमेरिकी सेना परिचालित छन्। उनीहरुलाई सर्तक अवस्थामा रहन यसअघि नै पेन्टागनले निर्देशन दिइसकेको छ।
यसैबिच नाटो गठबन्धनका साझेदारहरुले भने अमेरिकी कदमको समर्थन गरेका छन्। पोल्याण्डमा थप सेना पठाउने निर्णयको त्यहाँका अधिकारीहरुले स्वागत गरेको सीएनएनले जनाएको छ।
पोल्याण्डका विदेश मन्त्री ज्विगन्यु राउ यति बेला वासिङटन पुगेका छन्। उनले त्यहाँ अमेरिकी समकक्षी एन्टोनी व्लिङ्कनसँग भेट गर्ने कार्यक्रम रहेको छ। यता, जर्मनीले भने युक्रेनमा थप हतियार पठाउन अस्वीकार गर्दै मध्यमार्गी बाटो रोजेको अल जजिराले जनाएको छ। हरेक पटक युरोपियन युनियनमा युक्रेनको मामिलामा निर्णय गर्दा सँधै नेतृत्व गर्ने जर्मनी यसपटक भने अर्को किनाराबाट हेरिरहेको छ।
इयु र अमेरिकाले सैन्य सहायता पठाउँदा जर्मनीले भने स्वास्थ्य सामाग्री मात्र पठाएको छ। उसले इस्टोनियालाईसमेत जर्मनमा बनेको हतियार पठाउन रोक लगाएको छ। यसअघि जर्मनका जलसेना प्रमुखले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेपछि राजीनामा दिन बाध्यभएका थिए।