PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

सभामुखविरुद्ध कांग्रेसले महाअभियोग ल्याए एमालेले सहयोग गर्छ : टोपबहादुर रायमाझी



पहिलोपोस्ट

सभामुखविरुद्ध कांग्रेसले महाअभियोग ल्याए एमालेले सहयोग गर्छ : टोपबहादुर रायमाझी

काठमाडौं : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझीले संसदबाट एमसीसी पास गर्न सभामुखले वातावरण नबनाए सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याउनुपर्ने बताएका हुन्।

'एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा कांग्रेसले राख्यो भने हामी साथ दिन्छौँ' उनले भने।

उनले सभामुख विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए। स

एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताए।

'अहिले हामी सरकारमा छैनौँ। सत्तारुढ गठबन्धनले के गर्छ ? त्यो कुरा टुंगो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन। सरकारले आफ्नो पोजिशन क्लियर गरोस् त्यतिबेला हाम्रो पार्टीले निर्णय गर्छ' उनले भने।

रायमाझीले सभामुखलाई हटाए संसद राम्रोसँग चल्ने बताए। एमालेले आफूले कारवाही गरेका सांसदहरुलाई हटाउनुपर्ने र सभामुखको राजीनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ।

यसका साथै, रायमाझीले सत्ता गठबन्धनले चुनाव हार्ने डरले स्थानीय तहको निर्वाचनको मिति सार्न खोजिरहेको आरोप समेत लगाएका छन्। उनले नेकपा एमालेलाई तत्काल कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने आवश्यक्ता नरहेको भन्दै पार्टीले आगामी निर्वाचनमा एक्लै आफ्ना एजेण्डा लिएर जनतासामु जाने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell