PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

स्वास्थ्य मापदण्ड तोड्दै दशरथ रंगशाला बाहिर खेलाडीको प्रदर्शन : बालबालिकालाई अघि सारेर लगाइयो नारा

स्वास्थ्य मापदण्ड तोड्दै दशरथ रंगशाला बाहिर खेलाडीको प्रदर्शन : बालबालिकालाई अघि सारेर लगाइयो नारा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रमुख कार्यकारी सदस्य सचिवको विषय टुंगो नलागेको भन्दै खेलकुदसँग सम्बन्धित तीन संस्थाले आज विरोध प्रदर्शन गरेका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पिक संघ, राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले आज विरोध कार्यक्रम आयोजना गरेका हुन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को परिसरबाट शुरु भएर दशरथ रंगशाला अघिसम्म खेलाडीहरुले र्‍याली निकालेका थिए। प्रदर्शनमा दीपक श्रेष्ठ, दीपक बिष्ट, आयुसा शाक्य, अनु अधिकारी, दीपक महर्जन लगायतका राष्ट्रिय खेलाडीहरु पनि सहभागी थिए।

कालोपट्टीले हात बाँधेर र्‍यालीमा सहभागी भएका खेलाडीहरुले 'खेलाडीलाई रोजगरीको व्यवस्था गर', 'अपुरो खेलकुद ऐन तुरुन्तै संशोधन गर', 'खेलकुदलाई अनिर्णयको बन्दी बनाउन पाइदैन' लगायतका नारा लगाएका थिए। दशरथ रंगशालाको प्रवेशद्वार अगाडि उनीहरुले धर्ना दिएका थिए।

कोरोना संक्रमणका कारण २० जनाभन्दा बढी भेला हुन प्रशासनले रोक लगाएको बेला खेलकुद संघले भिडभाड गर्दै प्रदर्शन गरेको हो। खेलाडीको हकहितका लागि भन्दै गरिएको प्रदर्शनमा राष्ट्रिय खेलाडीभन्दा तेक्वान्डोका बालबालिकाको उपस्थिति धेरै थियो।

सत्ता समीकरण फेरिएपछि आएका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने रमेश सिलवाल र बोर्ड सदस्यहरुलाई स्पस्टीकरण सोधेर हटाएपछि यो मामला अदालतसम्म पुगेको थियो। यता खेलकुद मन्त्रालयले टंकलाल घिसिङलाई सदस्यसचिव बनाएको अवस्थामा अदालतमा मुद्धा अघि बढेका कारण यो विषय टुंगोमा पुग्न सकेको छैन।

जसकारण खेलकुद क्षेत्र ठप्प प्राय: छ। त्यसैले खेलकुदका कर्मचारी, खेलाडी, प्रशिक्षकको काम प्रभावित भएको साथै नवौँ राष्ट्रिय खेलकुद अलमलमा परेकाले भन्दै विरोधमा उत्रनु परेको आयोजकले जनाएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell