हेटौंडा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे पदीय मर्यादाविपरीत गालीगलौजमा उत्रिएको भन्दै प्रतिवादमा उत्रिने चेतावनी दिएको छ।
एमालेबाट वाग्मती प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक रहेका दीपक निरौलाले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशसभामै विपक्षी दलमाथि मुख्यमन्त्री संसदीय मर्यादाविपरित व्यक्तिगत गालीगलौजमा उत्रिएको भन्दै आपत्ति जनाएका हुन्।
यस्तै, उनले मुख्यमन्त्री र सरकार भ्रष्टाचारमा संलग्न भएको आरोप समेत लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अन्धाधुन्ध गरेको खर्चको आमनागरिक, बुद्धिजिवी तथा सञ्चार जगतले तीव्र विरोध गरिरहँदा प्रदेश सरकारका प्रमुख स्वयम्ले सरकारले खर्च नगरे कसले गर्छ त ? भन्ने अत्यन्तै गैह्र जम्मेवार र पदीय मर्यादा विपरीत गैह्र कानूनी अभिव्यक्ति सार्वजनिक सभा समारोहहरुमा दिने, सरकारको नेतृत्व आफूले गरिरहेको समेत भूलेर प्रतिपक्ष जस्तो व्यवहार प्रस्तुत गर्ने, पदको मर्यादा भूलेर व्यक्तिगत गालीगलौजमा उत्रने क्रियाकलाप अत्यन्तै खेदजनक छ।’
अहिलेको सरकारले यसअघिको एमाले सरकार रहेको बेला लागू गरेका नीति कार्यक्रम तथा राष्ट्रिय गौरवका आयोजनाहरू कटौती गर्ने तथा रकमान्तर गरेर आफूखुशी खर्च गरेको आरोप एमालेले लगाएको छ।
‘सरकारले मन्त्रालय फुटाएको छ। तर कर्मचारी व्यवस्थापन गर्न सकेको छैन। जतातै अस्तव्यस्ता सिर्जना गरिएको छ। सरकार प्रमुख सभा समारोहमा मेरो पार्टीएको कमिटी नबनेको वडामा एक रूपैयाँ पनि बजेट हाल्दिन भन्दै हिँडिरहनु भएको छ। संघीयता विरोधीहरुका लागि टाउको उठाउन र संघीयतालाई ध्वस्त पार्न यो भन्दा राम्रो अवसर के हुन सक्छ?’विज्ञप्तीमा उल्लेख छ।