79.jpg)
काठमाडौँः महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले अनिलकुमार मण्डललाई काठमाडौँबाट पक्राउ गर्यो। माघ १२ र १३ गते मोरङले धनपालथान गाउँपालिका ७ स्थित उखुबारीभित्र भेटिएका दुई वटा शवको अनुसन्धानमा मण्डलको कनेक्सन खुलेको थियो।
घटनाको अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी काठमाडौँ नै आएका छन्। पक्राउ परेका मण्डललाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मोरङ पठाइसकेको छ। तर उनै मण्डलले ललितपुरको गोदावारी नगरपालिकमा भाडामा लिएको एक तले घर नजिकै अर्को एक जना पुरुषको शव भेटिएको छ।
लामो समयदेखि बेपत्ता ६२ वर्षीय मोहनप्रसाद लिम्बुको शव भेटिएको हो। लिम्बुको कनेक्सन पनि मोरङको घटनासँग नै छ। लिम्बुको शव ललितपुरमा गाडिएको जानकारी भने पक्राउ परेका मण्डलले नै दिएका थिए। लेनदेनको विषयमा विवाद हुँदा लिम्बुको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
'मण्डलले नै बयानमा शव यहाँ गाडेको छ भन्ने जानकारी दिएपछि हाम्रो टोली पुगेर हेर्दा शव भेटिएको हो,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने। शव भेटिएको स्थान
ललितपुरमा भेटिएको शव पाँच फिट गहिरो खाल्डो खनेर पुरिएको थियो। खाल्डोमा शव हालेर केही माटो हालेपछि सिमेन्ट हालेर ढलान गरेको अवस्थामा शव भेटिएको हो।
'एक जनाको घर पछाडि रहेको जग्गामा गाडिएको अवस्थामा भेटिएको छ। पाँच फिट खाल्डो खनेर ढलान गरिएको थियो। ढलान फोडेर शव निकालिएको हो,' महानगरीय अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले भने। घटनाको प्रकृति हेर्दा कम्तिमा एक महिना अगाडि नै गाडिएको हुनसक्ने महाशाखाका एसएसपी कुँवरले बताए।
माघ १३ गते जिल्ला प्रहरी कार्यालय मोरङले धनपालथान गाउँपालिका ७ स्थित उखुबारीभित्र दुई वटा शव फेला परेको थियो। शव धरान घर भएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी घर भएका शम्भु चौधरीको थियो। दुबै जना साथी र जग्गा कारोबारी भएको प्रहरीको अनुसन्धानमा खुलेको थियो।
घटनामा जिल्ला प्रहरी कार्यालय मोरङ र महानगरीय अपराध महाशाखाको टोलीले अहिले संयुक्त अनुसन्धान गरिरहेको छ।