PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

तीन जनाको हत्या अभियुक्तहरु सार्वजनिक : अनिलको योजनामा बनेको थियो आफ्नै पाटर्नरको फरक मिति र स्थानमा हत्याको योजना



पहिलोपोस्ट

तीन जनाको हत्या अभियुक्तहरु सार्वजनिक : अनिलको योजनामा बनेको थियो आफ्नै पाटर्नरको फरक मिति र स्थानमा हत्याको योजना

काठमाडौं : तीन जना साथीको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बिहीबार मुख्य योजनाकार अनिल मण्डललाई काठमाडौंबाट पक्राउ गरेर मोरङ पुर्‍याइएका थिए। उनी सहित तीन जना आरोपीलाई पत्रकार सम्मेलन गर्दै प्रहरीले सार्वजनिक गरेको हो।

सिराहा नगरपालिका घर भएका ३१ वर्षीय अनिल मण्डल, मोरङ धनपालथान गाउँपालिका ७ घर भएका ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका घर भएका अमित साह भनिने दीनानाथ सोनारलाई प्रहरीले सार्वजनिक गरेको हो।

उनीहरुले तीन फरक फरक मितिमा तीन जनाको हत्या गरेको खुलेको छ। उनीहरुले तेह्रथुमका ६२ वर्षीय मोहनप्रसाद लिम्बु, सुनसरीको धरान-३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ गाउँपालिका–४ का ३२ वर्षीय शम्भु चौधरीको हत्या गरेको खुलेको छ।

माघ १२ र १३ गते मोरङले धनपालथान गाउँपालिका वडा नम्बर ७ बस्ने दिलिप सिंहको उखुबारीमा चौधरी र श्रेष्ठको शव भेटिएको थियो। शवसँग भेटिएको कागजपत्रको आधारमा उनीहरुको पहिचानसँगै सम्पर्कमा रहेका मानिसहरुको पहिचान खुलेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङले महानगरीय अपराध महाशाखाको टोलीसँग संयुक्त अपरेसन गरेको थियो। जसको क्रममा काठमाडौंबाट अनिल मण्डललाई पक्राउ गर्न सफल भएको थियो।

अनिल मण्डलसँगको बयान र अन्य पाटोबाट अनुसन्धान गर्दै जाँदा ललितपुरको गोदावारी नगरपालिका १२ मा बिहीवार गाडिएको अवस्थामा मोहनप्रसाद लिम्बुको शव फेला पारेको थियो। करिब पाँच फिट गहिरो खाल्डो खनेर त्यसमाथि माटो हाली सिमेन्टले ढलान गरेर शव पुरिएको अवस्थामा फेला पारेको थियो। लिम्बुको मंसिर २८ गते हत्या भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। त्यसपछि अन्य दुई जनाको हत्या गरेका थिए। हत्या भएका श्रेष्ठ भक्तपुर र चौधरी काठमाडौंमा बस्दै आएका थिए।

जग्गाको कारोबार गर्ने भन्दै श्रेष्ठ र चौधरी विराटनगर पुगेका थिए। यताबाट अनिल मण्डल पनि पुस २९ गते  विरानगर गएको अनुसन्धानमा खुलेको छ। घटनामा मण्डलले भारतीय नागरिकलाई समेत प्रयोग गरेका थिए। त्यही अनुसार पुस ५ गते श्रेष्ठको हत्या भएको थियो। तीन जना मिलेर व्यपार व्यवसाय गरे पनि उनीहरुलाई लिम्बु मरेको भने जानकारी थिएन। त्यसपछि पुस ७ गते चौधरीको हत्या गरिएको थियो।

हत्या गरेका दुवै जनाको शव मोरङको उखुबारीमा ३० फिटको फरकमा एउटै प्रकृतिमा खाल्डो खनेर गाडेका थिए। जबकि करिब एक महिनपछि मात्र उखु काट्ने क्रममा दुईवटा शव फेला परेको थियो। शव फेला परेको दुई दिनपछि मात्र उनीहरुको पहिचान गर्न प्रहरी सफल भयो।

'तीनै जनाको फरक फरक मितिमा र स्थानमा हत्या गरेको देखियो। एकले अर्कोलाई मारेको बारे जानकारी भएनन्। जसले गर्दा एक एक गर्दै मण्डलको निशानामा पर्दै गए,' महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले भने।

हत्याको कारण आर्थिक पाटो नै भएको प्रहरीको अनुसन्धानमा देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell