PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

डोटीको बोगटान फुड्सिलमा दुई दशक यताकै भारी हिमपात, तारजाली ढलेपछि उड्न थाले कालिज

डोटीको बोगटान फुड्सिलमा दुई दशक यताकै भारी हिमपात, तारजाली ढलेपछि उड्न थाले कालिज

एम बम/पहिलोपोस्ट


कैलाली : डोटीको बोगटान फुड्सिल गाउँपालिकामा दुई दशक यताकै भारी हिमपात भएको छ। त्यहाँ बिहीबार बिहानबाट बर्षा हुन सुरु भएको थियो भने दिउँसोबाट हिउँ पर्न सुरु भएको क्रम अझै रोकिएको छैन।

उच्च लेकाली भेगमा ३ फिटसम्म हिउँ परेको र त्यसको फेदतिरका गाउँमा समेत दुई दशक पछि हिउँ परेको स्थानीयले बताएका छन्। भारी हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ।

बोगटान फुड्सिल गाउँपालिका-५ मा कालिज व्यवसाय गर्दै आएका स्थानीय देवबहादुर बोहराले हिमपातले जनजीवन प्रभावितसँगै आफ्नो व्यवसायमा समेत क्षति पुगेको बताए।

‘निरन्तरको हिउँले कालिजका लागि गरिएको तारको घेरबार सबैतिर ढलेको छ,’ उनले भने ‘तारजाली ढलेपछि कालिजहरू उडेर बाहिर जान थालेका छन्। अहिले हिउँ पर्ने क्रम जारी रहेकाले त्यसलाई बनाउन, सुधार गर्न सकिने अवस्था पनि छैन।’

अझै हिउँ पर्ने क्रम जारी रहेकाले थप क्षति हुन सक्ने उनले बताए। उक्त फार्ममा ३५० र केआइसिंह गाउँपालिका ६ को फलेडीमा १०० कालिज रहेका उनले बताए। फलेडीमा पनि हिउँले तार जाली ढलेपछि कालिज उड्न थालेको उनको भनाई छ।

बोगटान फुड्सिल गाउँपालिका–४ का स्थानीय टिका सिंह बमले गाउँमा झन्डै दुई दशक यताकै भारी हिमपात भएपछि चिसोले जनजीवन प्रभावित बनेको बताए।

‘हिउँले रुखहरू ढल्ने, हाँगाहरू भाँच्चिने क्रम भइरहेको छ। पैदल बाटोहरूमा पनि हिउँ भरिएपछि घर बाहिर निस्कन समेत मुस्किल परेको छ’ उनले भने।

भारी हिमपात डोटीसँगै सुदूरपश्चिममा अधिकांश जिल्लामा भइरहेको छ। पहाडी जिल्लामा हिमपातले अन्तर जिल्लाका सबै राजमार्ग अवरुद्ध बनेका छन्।

फोटो : गोकर्ण बम र देवबहादुर बोहरा र रोशन बम



ट्रेन्डिङ पोस्ट

Ncell