PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

संक्रमितको रफ्तार रोकिँदै, मृत्यु भने माथि नै : २४ घन्टामा ५ लाख भन्दा धेरैलाई खोप



पहिलोपोस्ट

संक्रमितको रफ्तार रोकिँदै, मृत्यु भने माथि नै : २४ घन्टामा ५ लाख भन्दा धेरैलाई खोप

काठमाडौं : कोभिड १९ का संक्रमित संख्या घट्दै गएको भए पनि मृत्यु हुनेको संख्या भने घटिरहेको छैन। पछिल्लो २४ घन्टामा थप १६ जना मानिसको कोभिड १९ संक्रमणकै बिच ज्यान गएको छ।

यस अवधिमा २ हजार ५ सय २६ जना नयाँ संक्रमित पुष्टि भएका छन्। संक्रमण मुक्त हुनेको संख्या ८ हजार ४ सय २५ हुँदा संक्रमित हुनेको संख्या न्युन देखिनुले स्थिति नियन्त्रणतिर जाँदै गरेको संकेत गर्छ।

हिजो ३ हजार १ सय ७५ जना संक्रमित थपिँदा मृत्यु हुनेको संख्या १४ थियो। माघ १९ गते १२ जनाको मृत्यु भएको रेकर्ड स्वास्थ्य मन्त्रालयले दिएको छ। त्यसैगरी १८ गते ९ जना मानिसको मृत्यु भएको थियो। 

पछिल्लो २४ घन्टामा ११ हजार ७३ जनाको परीक्षण गर्दा २५ सयको हाराहारीमा संक्रमित भेटिएको हो। परीक्षण गराएका मध्ये संक्रमित हुनेको दर २५ प्रतिशतभन्दा कम हो। दुई साता अघि यो दर ५० प्रतिशतसम्म पुगेको थियो।

पछिल्लो २४ घन्टामा ६ हजार ६ सय ५५ जनाको पीसीआर परीक्षण तथा ४ हजार ४ सय १८ जनाको एन्टीजेन परीक्षण गरिएको थियो। जसमध्ये १६ सय २ जना पीसीआर परीक्षण र ९ सय २४ जना एन्टीजेन परीक्षणबाट पहिचान भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

संक्रमितको संख्या कम हुँदै जाने र संक्रमण मुक्त हुनेको संख्या बढ्दै जाँदा संक्रिय संक्रमितको संख्या पनि घट्दो छ। केही दिनअघि ९० हजार भन्दा माथि रहेको संक्रमित संख्या अहिले ५६ हजार ४ सय ५७ मा झरेको छ। यस बचि खोप लगाउनेको संख्या पनि तीब्र रुपमा बढेको छ। पछिल्लो २४ घन्टामा ५ लाख १३ हजार ५१ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell