PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

सरकार गठनको तीन महिना बितिसक्दा पनि कर्णालीमा मन्त्रिपरिषद्ले पाएन पूर्णता, भागबण्डा मिलाउन केन्द्रकै भर



पी बी खड्का

सरकार गठनको तीन महिना बितिसक्दा पनि कर्णालीमा मन्त्रिपरिषद्ले पाएन पूर्णता, भागबण्डा मिलाउन केन्द्रकै भर

सुर्खेत : कर्णाली प्रदेशमा कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले मुख्यमन्त्री पद सम्हालेको तीन महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।

मुख्यमन्त्री शाहीले किस्ताबन्दीमा नेकपा (माओवादी केन्द्र)का एक र नेकपा (एकीकृत समाजवादी)का एक जना मन्त्री थपेका छन्। तर, लामो समय बितिसक्दा पनि गठबन्धनभित्र भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउन नसकेको हो।

माओवादी केन्द्र प्रदेशसभामा संख्यात्मक हिसाबमा चार मन्त्रालय पाउनु पर्ने दावीबाट पछि नहटेपछि र एकीकृत समाजवादी पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मतदिनु अघिको तीन मन्त्रालय पाउने सहमतिबाट टसमस नहुदाँ मन्त्रालय बाँडफाँट टुंगिन सकेको छैन।

यता, सरकारको नेतृत्व सम्हालेको कांग्रेसले पनि मुख्यमन्त्रीसहित अन्य दुई मन्त्रालय आफैँसँग राख्न चाहेको छ। सत्तारुढ गठबन्धन अन्तर्गत हाल प्रदेशसभामा माओवादी केन्द्रका १२ सांसद छन् भने कांग्रेसका ६ र एकीकृत समाजवादीका ३ सांसद छन्।

अहिले माओवादी केन्द्रका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी विन्दमान विष्टले सम्हालेका छन्। एकीकृत समाजवादीबाट भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी चन्द्रबहादुर शाहीले सम्हालेका छन्।

कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिनुअघि मुख्यमन्त्रीसहित सात मन्त्रालय रहेकोमा शाहीले विश्वासको मत लिएपछि भागबण्डा पुर्‍याउनकै लागि भौतिक पूर्वाधास विकास मन्त्रालय टुक्र्याएर उर्जा तथा जलस्रोत मन्त्रालय थपेका थिए। मन्त्रालय टुक्र्याएपछि विश्वासको मत लिनुअघिको सहमति कार्यान्वयनमा एकीकृत समाजवादी र माओवादी केन्द्रले छुट्टाछुट्टै अडान राखेपछि सरकार गठनमा गठबन्धनभित्र किचलो थप पेचिलो बनेको हो।

गठबन्धनभित्र छलफल गरेर पटक-पटक सरकारलाई पूर्णता दिन गृहकार्य गरेपनि सार्थकता पाउन नसकेको नेताहरु बताउँछन्। त्यसैले कर्णालीको भागबण्डाको किचलो केन्द्रसम्म पुगेको छ।

गठबन्धनभित्र सहमति जुट्न नसकेपछि छिनोफानो गर्न केन्द्रीय नेतृत्वमा पठाएको माओवादी केन्द्रका एक सांसदले बताए।

‘पटक-पटक गठबन्धन दलबिच छलफल भएको थियो तर, यहाँ गठबन्धनभित्र सहमति जुट्न नसकेपछि अब मन्त्रालयको भागबण्डा केन्द्रीय नेतृत्वबाट टुंगिने गरी पठाइएको छ’, ति सांसदले भने, ‘अब एक/दुई दिनमा सरकारले पूर्णता पाउँला।’

यता, सरकारको नेतृत्व गरेको कांग्रेसले भने गठबन्धनभित्र सहमतिको प्रयास भइरहेको बताएको छ। दलका प्रमुख सचेतक हिमबहादुर शाहीले सरकार गठनका लागि गठबन्धन दलभित्र छलफल भइरहेको बताए।

‘गठबन्धन दलभित्र छलफल चलिरहेको छ’, उनले भने, ‘सर्वसम्मतीबाट व्यवस्थित गरेर जाने हुँदा केही ढिलाइ भएको हो, अब छिट्टै टुंगिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell