3.jpeg)
चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बिच भेटवार्ता भएको छ।
शितकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन बेइजिङ पुगेका राष्ट्रपति पुटिनले चिनियाँ समकक्षीसँग भेट गरेको सिन्ह्वाले जनाएको छ।
पश्चिमा राष्ट्रहरुले बेइजिङ ओलम्पिकलाई कुटनीतिक बहिस्कार गरेको र युक्रेन तानवलाई लिएर पश्चिमा राष्ट्रले रुसको विरोध गरिरहेको बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
शितकालीन ओलम्पिकको उद्घाटन कार्यक्रम अघि रुसी राष्ट्रपति पुटिनले दुई देशले परराष्ट्र मामिलादेखि आर्थिक विकास लगायतका विविध क्षेत्रमा एक अर्कालाई सहयोग गर्दै आएको बताएका थिए।
बेइजिङ ओलम्पिकमा पुटिन चीनका लागि सबैभन्दा विशिष्ट पाहुन हुन्। २००८ मा गृष्मकालीन ओलम्पिकमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस सहभागी भएका थिए। यसपटक भने अमेरिका सहित युरोपेली मुलुकहरुले मानव अधिकारको विषयलाई लिएर कुटनीतिक बहिस्कार गरेका छन्।
भारतले पनि कुटनीतिक बहिस्कार गर्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खान भने बेइजिङ पुगेका छन्।
बेइजिङ पुगेका पुटिनसँग चिनियाँ राष्ट्रपति सिले दिवा भोजसँगै वार्ता गरेको रुसी सरकारी समाचार एजेन्सी आरआईएलाई उदृत गर्दै एपीले जनाएको छ।
सन् २०१९ पछि यी दुई नेता बिच भएको यो पहिलो प्रत्यक्ष भेटवार्ता हो।
बेइजिङ ओलम्पिकमा सहभागी हुन पुटिनसँगै एसियाली मुलुकहरुका नेताहरु समेत बेइजिङ पुगेका छन्।
यतिबेला राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस, विश्व स्वास्थ्य संघटनका महासचिव टेड्रोस घेब्रेयेसस लगायत बेइजिङ पुगेका छन्।
सि-पुटिन भेटवार्ताका क्रममा दुई नेताबिच दुई देशको विदेश नीतिको बारेमा छलफल भएको उल्लेख छ। त्यस्तै, बेइजिङ पुग्नुअघि बिहीवार सिन्ह्वामा लेख प्रकाशित गर्दै पुटिनले मस्को र बेइजिङले विश्व मामिलामा समतामुलक र सहभागितामूलक रुपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका थिए।
उनले 'रुस र चीन : भविष्य उन्मुख एक रणनीतिक साझेदारी' लेख मार्फत् विश्वका केही देशले खेलुकद जस्तो क्षेत्रलाई आफ्नो सीमित फाइदाका लागि राजनीति गरेको आरोप समेत लगाएका छन्।
पुटिनको बेइजिङ भ्रमणको अन्तिम दिन दुई देशबिच संयुक्त वक्तव्य जारी हुने बताइएको छ। यस भ्रमणका क्रममा व्यापार, ऊर्जा लगायतका एक दर्जन सम्झौतामा हस्ताक्षर गर्ने दुई देशले तयारी गरेका छन्।
पुटिन र सि बिच आपसी सम्बन्ध पनि राम्रो छ। सन् २०१३ मा चीनका राष्ट्रपति भएसँगै सिले पहिलो विदेश भ्रमणका लागि रुसलाई रोजेका थिए।
यसबिच दुई नेताबिच ३० पटक भन्दा बढी भेटवार्ता भइसकेको चाइना डेलीले जनाएको छ।