PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

वाग्मती सरकारले सार्वजनिक गर्‍यो एक सय दिनको उपलब्धि, 'सरकारको काम खर्च गर्नु हो, मन्त्रालय टुक्राउनु पनि उपलब्धि'



निशा गुरुङ

वाग्मती सरकारले सार्वजनिक गर्‍यो एक सय दिनको उपलब्धि, 'सरकारको काम खर्च गर्नु हो, मन्त्रालय टुक्राउनु पनि उपलब्धि'

हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आफू नेतृत्वको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्।

गठबन्धन सरकार बनेको एक सय दिनमा सरकारले गरेको उपलब्धिहरूलाई मुख्यमन्त्री पाण्डेले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेका हुन्।

पाण्डेको नेतृत्वमा गत कात्तिक ११ गते गठबन्धन नेतृत्वको सरकार बनेको थियो। प्रदेश सरकारमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सहभागी छन्।

मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वमा बनेको गठबन्धन सरकारले एक सय दिनमा गरेको कामलाई ६७ बुँदामा प्रस्तुत गरेका छन्।

पाण्डेले सार्वजनिक गरेको उपलब्धिमा मन्त्रालय विभाजन, सार्वजनिक बिदादेखि नि:शुल्क रक्तसञ्चारसम्मलाई उल्लेख गरिएको छ।

पाण्डेले सार्वजनिक गरेको उपलब्धिको पहिलो बुँदामा नै प्रदेश सरकारको आर्थिक रूपान्तरण गर्न, नागरिकलाई सरल र सहज गुणस्तरीय सेवा प्रदान गर्न मन्त्रालय वृद्धि गरेको कुरा उल्लेख गरिएको छ।

त्यस्तैगरी, बुँदा नम्बर ३४ मा मकवानपुर, चितवन र धादिङको चेपाङको राष्ट्रिय पर्व न्वागीमा सार्वजनिक बिदा दिने निर्णय गरिएको कुरा उल्लेख छ। आफूहरुले चेपाङ समुदायलाई सम्मान गरेर प्रदेश सरकारमा पनि सहभागी गराएको भन्दै मुख्यमन्त्री पाण्डेले सो समुदायको सम्मानको लागि दिएको बिदा पनि आफूहरुको उपलब्धि भएको बताए।

बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको कार्यलाई पनि प्रदेश सरकारको उपलब्धिमा राखिएको छ। विगतमा जस्तोसुकै योजनालाई पनि बहुवर्षीय योजनाको रुपमा राख्ने गरेकाले आफूहरुले त्यसलाई व्यवस्थित बनाउन मापदण्ड तय गरेको मुख्यमन्त्री पाण्डेको भनाइ छ।

त्यस्तैगरी, प्रदेश सरकारको प्रशासकीय भवनको लागि जग्गा पहिचान समिति गठन, कोभिड–१९ व्यवस्थापन प्रदेश निर्देशक समिति गठन, रासायनिक मल कारखाना स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको कुरा उल्लेख गरिएको छ।

पाण्डेले आफू नेतृत्वको प्रदेश सरकारले प्रदेशको स्थायी बासिन्दालाई नि:शुल्क रक्तसञ्चार उपलब्ध गराउने सरकारको निर्णयलाई पनि महत्वपूर्ण उपलब्धि मानेका छन्।

मुख्यमन्त्री पाण्डेले १४ वटा मन्त्रालयले प्रभावकारी काम गरेर देखाउने बताएका छन् । उनले मन्त्रालय बढाएकोमा पश्चाताप नभई गर्व भएको बताए।

‘हामिले संविधानले दिएको अधिकार प्रयोग गरेका हौं।सरकार भनेकै खर्च गर्नका लागि हो। सरकारले खर्च गरेर नै जनतालाई सेवा दिने हो। त्यहि सेवा दिनलाई हामीले सिस्टम बनाउनका लागि मन्त्रालय थप गरेका हौ, उनले भने।’

मुख्यमन्त्री पाण्डेले प्रदेशमा ५७ अर्ब बजेट रहेको भन्दै सरकारले गरेका कार्यक्रमहरु खर्च नहुने बजेटहरुबाट रकमान्तर गरेर कार्य सम्पन्न गर्ने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell