PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इन्जिनियरिङ 'ड्रपआउट' अनिलको 'कुरियर क्लु' जसबाट खुल्यो श्रृङ्खलावद्ध रुपमा भएका तीन हत्या



सविन ढकाल

इन्जिनियरिङ 'ड्रपआउट' अनिलको 'कुरियर क्लु' जसबाट खुल्यो श्रृङ्खलावद्ध रुपमा भएका तीन हत्या

काठमाडौं : इन्जिनियरिङ गर्दै थिए अनिल मण्डल। पढाई सकिनुअघि नै त्यसमा उनले ब्रेक लगाए। पढाइ छाडेका उनको ध्यान पैसा कमाउनतिर केन्द्रित भयो। लक्ष्य प्रष्ट थियो - जसरी हुन्छ आम्दानी गर्ने। 

त्यसैले, अनेक धन्दामा जोडिन थाले उनी। उनको सबैभन्दा राम्रो कमाई जग्गाको कारोबारबाटै हुन थाल्यो। दुई वर्षको अवधिमा जग्गा कारोबारको कमिसनले अनिलको आर्थिकस्तरमा उकास्यो। कारोबारकै बिचमा कहिले गाडी चढ्ने बने त कहिले गाडीबाट झर्ने हालत भोगे। तर, उनको कमाउने धन्दा चलेकै थियो। यसैबिच एकाएक अनिल प्रहरी हिरासतमा पुगेका छन्।

सिराहा नगरपालिका घर भएका ३१ वर्षीय युवक हुन् अनिल मण्डल। जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा छन् उनी। तीन व्यवसायिक साझेदारको हत्याको अभियोग छ उनीमाथि। प्रहरीले पक्राउ गरेसँगै उनका जीवनका अनेक पहेलीहरु एकएक गरी खुल्दैछन्। अनिलसँगै उनका सहयोगलाई पनि शुक्रवार प्रहरीले सार्वजनिक गर्‍यो - तीन जनाको हत्या अभियोगमा। 

मोरङको धनपाल थान गाउँपालिका ७ घर भएका ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका घर भएका अमित साह भनिने दीनानाथ सोनार सहित उनी हिरासतमा छन्। तेह्रथुमका ६२ वर्षीय मोहनप्रसाद लिम्बु, सुनसरीको धरान-३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको शम्भुनाथ गाउँपालिका–४ का ३२ वर्षीय शम्भु चौधरीको हत्या अभियोगमा प्रहरीले अनुसन्धान गरिरहेको छ उनीहरुमाथि।

प्रहरीको नियन्त्रणमा रहेका अनिल जनजीवीका सहकारीका अध्यक्ष समेत हुन्। ३१ वर्षकै उमेर उनले धेरै कम्पनीमा हात हालेको प्रहरीको अनुसन्धानमा खुलेको छ। नयाँ बानेश्वरमा रहेको यात्रा पल कम्पनीका संचालक समेत हुन् उनी। पठाओजस्तै प्रकृतिको काम गर्ने योजनासहितको कम्पनी हो यात्रा पल।  

पक्राउ परेका अभियुक्तहरु


अविवाहित उनी बल्खुमा फ्ल्याट लिएर बस्दै आएका थिए। उनीसँगै उनकी प्रेमीका पनि बस्ने गरेको खुलेको छ। अनिलले फेमेली केयर ग्रुप नामक अनलाइन सपिङ समेत संचालन गर्ने तयारी गरिरहेका थिए। अपराधका खबरलाई आधार बनाएर एउटा अनलाइन साइट - क्राइम फ्रि सोसाइटी समेत सञ्चालनको तयारीमा उनी रहेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए। त्यस अनलाइनमा उनले हत्या तथा आत्महत्यालाई निरुत्साहित गर्ने सामग्री राख्ने 'रणनीति' बनाएका थिए। 

जग्गाको रकमले बुनिएको हत्याको योजना

अनिल जग्गा दलाल हुन्। घर जग्गा मिलाएवापते कमिसन लिने काम। उनले हरेक कारोबारमा ३ देखि ४ प्रतिशत कमिसन लिने गरेको अनुसन्धानमा खुलेको छ।

धरानका राजेन्द्र श्रेष्ठसँग केही वर्ष अघिदेखि नै अनिलको चिनजान भएको थियो। जग्गाको कारोबार गर्दा उनीहरुको दोस्ती जमेको थियो। त्यही सम्बन्धले उनीहरुलाई शम्भु चौधरी र मोहनप्रसाद लिम्बुसित जोड्यो। लिम्बुसँग भने उनको गएको असोजतिरमात्र चिनजान भएको देखिन्छ। 

शम्भु, राजेन्द्र र मोहनप्रसाद मिलेर घर जग्गाको कारोबार गर्थे। उनीहरुको कारोबार र कमिसन बाडफाडको सूचीमा केही अघिदेखि अनिल मण्डल पनि अटाएका थिए। उनीहरुको समूहले  एउटा जग्गा ५० करोड रुपैयाँमा बैना गराएको थियो, केही महिना अघि। त्यस वापत उनीहरुको समूहले डेढ करोड रुपैयाँ हात पार्दै थियो।

कमिसनको रकम मध्ये तीन जनाले केही बढी र अनिललाई भने कम दिने सल्लाह गरेका थिए। यही 'डिल'मा गरिएको 'कमिसन'को कुराले असन्तुष्टिको ब्यु जन्माएको थियो। श्रृङ्खलावद्ध हत्याको योजनाको सूत्रधार यही असन्तुष्टिको ब्यु रहेको अनुसन्धानमा खटिएका ती प्रहरी अधिकृतले बताए। 

विराटनगरमा २९ गते एउटा अर्को डिल हुँदै थियो - ललितपुरको हरिसिद्धि इटा तथा टायल कारखानको जग्गाबारे। कारखानाको २५ रोपनी ७ आना जग्गा बिक्री गर्न अनिलले बैना गराएका थिए। उनका साझेदार शम्भु चौधरी वैनाको प्रकृयामा सहभागी थिए। पुस २७ गतेसम्म उक्त जग्गाको पूरै प्रकृया सक्ने तयारी थियो। त्यही जग्गाको कमिसन पनि मुख्य कारण बनेको थियो। कमिसनको आधा रकम लिम्बु राख्न चाहन्थे।

'उनीहरु पार्टनर भएर काम गरेको देखिएको छ। त्यसको कमिसनको रकम आफैँले राख्‍नका लागि भएको आर्थिक प्रलोभनले हत्या गरेको देखिन्छ,' महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले भने।

असोजको ३ गते अनिल मण्डल र मोहनप्रसाद लिम्बु बिच साढे २ अर्ब रुपैयाँको विषयमा लिखित सहमति भएको थियो। जसमा कपिलवस्तुको गणपति सिमेन्ट र सुपर सुनकोसी जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यका साथ रकम मोहनप्रसादलाई दिने भनिएको थियो। मोहनप्रसाद जलविद्युत क्षेत्रका जानकार। अनिल, राजेन्द्र, शम्भु र मोहनप्रसादले मिलेर घलेन्द्री हाइड्रो पावरमा लगानी गर्ने योजना तयार पारेका थिए। त्यसका लागि थप ४ करोड रुपैयाँ खोजीमा समेत थिए उनीहरु।

झापाको जग्गाको कमिसन र अन्य कारोबारको रकम हत्याउनको लागि अनिलले श्रृङ्खलावद्ध हत्याको योजना बुने - चर्चित भारतीय सिरियल क्राइम पेट्रोलमा झै। उनको पहिलो निसानामा थिए मोहनप्रसाद लिम्बु। 

घरको कोठाभित्र पुर्ने योजना
बलिउडमा एउटा क्राइम थ्रिलर फिल्म छ - दृश्यम्। फिल्ममा एक युवकको शव बन्दै गरेको प्रहरीको भवनमुनि गाडिन्छ जुन कसैले थाहा पाउन सक्दैनन्। त्यस्तै लाग्छ मोहनप्रसादको हत्या र शव लुकाउने शैली। 

मंसिर २८ गते जलविद्युत आयोजनाको विषयमा छलफल गर्न भन्दै ६२ वर्षीय मोहनप्रसाद लिम्बुलाई ललितपुरको ठेचोमा अनिलले डाके। फेमेली केयर ग्रपका लागि सामान राख्‍न भन्दै अनिलले एक तले घर मासिक ३० हजार रुपैयाँमा भाडामा लिएका थिए त्यहाँ। 

अनिलले मोहनको हत्या गर्ने योजना अनुसार उनलाई बोलाएका थिए। साथै, उनका दुई जना सहयोगी नासिर आलम र अमित साह पनि काठमाडौं आइसकेका थिए।  हत्या गरिएका मोहनप्रसाद लिम्बु


मोहनप्रसादको हत्या गरेपछि फिल्म दृश्यममा झै कोठाभित्रै शव गाड्ने तयारी! कोठामा शव अट्ने ठाउँको मार्किङ गरे। तर, त्यहाँ ढलान फुटाउन समस्या भयो। त्यसपछि बाहिरपट्टि खाल्डो खने। हत्या गरिसकेपछि मोहनको शव त्यही खाल्डोमा हाले। छिटो गलोस् भनेर शवमाथि नुन पनि हाले। हिजो बिहीवार प्रहरीले निकालेको शव त्यहीँ खाडलबाट हो जसको माथि फिल्ममा जस्तै ढलान गरिएको थियो।  

'पाँच फिटको खाल्डोमा शव हालेर माटोले पुरेपछि त्यसमाथि सिमेन्टले ढलान गरेको देखियो,'  एसएसपी कुँवरले भने।

हत्या गरेपछि विराटनगर 

मंसिर २८ गते हत्या र शव व्यवस्थापन गरेपछि निर्धक्क अनिल विराटनगरतिर लागे। उनीसँगै उनका बाँकी दुई साथीहरु राजेन्द्र र शम्भु पनि गाडीमा विराटनगर गएको देखिन्छ। अनिलले हत्या गरेकै दिन दुई पार्टनरलाई लिएर विराटनगर गइरहँदा बाँकी दुई जना भने हत्याबारे अन्जान थिए। जे भइरहेको थियो, सबै फिल्मी शैलीमा।

झापाको जग्गा र अरु कारोबार मिलाउन भन्दै मंसिर २९ गते अनिल, राजेन्द्र र शम्भु विराटनगर पुगे। एक साझेदार मोहनप्रसादको हत्या भइसकेको थियो जसबारे राजेन्द्र र शम्भुलाई संकेत समेत थिएन।

विराटनगरमा २९ गते एउटा अर्को डिल हुँदै थियो - ललितपुरको हरिसिद्धि इटा तथा टायल कारखानको जग्गाबारे। कारखानाको २५ रोपनी ७ आना जग्गा बिक्री गर्न अनिलले बैना गराएका थिए। उनका साझेदार शम्भु चौधरी वैनाको प्रकृयामा सहभागी थिए। पुस २७ गतेसम्म उक्त जग्गाको पूरै प्रकृया सक्ने तयारी थियो।

तर, त्यस बिचमा नै क्रमश: पुस ५ गते राजेन्द्र श्रेष्ठ र त्यसको दुई दिनपछि पुस ७ गते शम्भु मारिए। प्रहरीको दावीलाई मान्ने हो भने हत्या गर्ने अरु कोही थिएन - अनिलबाहेक।  

हत्या गरेपछि मोहनप्रसादको शव जसरी व्यवस्थापन गरेका थिए, त्यही शैली अपनाए उनले। खाल्डो खने। दुवैको शव गाडे। मोरङले धनपालथान गाउँपालिका वडा नम्बर ७ बस्ने दिलिप सिंहको उखुबारीमा दुवैको शव गाडेका थिए उनले। 

एक महिनासम्म एकै व्यक्तिबाट भएका तीन वटा हत्या कसैका नजरमा 'हत्या' थिएन। तीन जना हराएका चाहिँ थिए। एक महिना बित्यो। यी तीन जनाको मृत्युको घटना कसैलाई जानकारी थिएन। अनिलमा 'आत्मविश्वास' चुलिँदो थियो। त्यसैले पुस १२ गते उनी आफ्नो गाडी लिएर काठमाडौं नै फर्केको देखिन्छ।    मोरङमा शव भेटिएको घटनास्थल


उनी काठमाडौं फर्केको ठीक एक महिनापछि अर्थात् माघ १२ गते - दिलिप सिंहको खेतमा उखु काट्दै गरेका किसानहरुले देखे - केही अनौठो दृश्य। माटो खोस्रिएको, माटो माथितिर उकासिएको। कामदारहरुले त्यहाँ - केही गाडिएको अनुमान गर्न कठिन भएन। त्यसपछि डाकियो प्रहरी। 
प्रहरी पुगेर हेर्दा एक जना पुरुषको शव गाडिएको भेटियो। भोलिपल्ट उक्त स्थानबाट ३० फिट जतिको दुरीमा अर्को उस्तै प्रकृतिको ठाउँ फेला पर्‍यो। खाल्डो खनेर हेर्दा त्यहाँ पनि शव भेटियो। पहिलो शव शम्भु चौधरी र दोस्रो राजेन्द्रकुमार श्रेष्ठको थियो। शव भेटिएको दुई दिनपछि मात्र उनीहरुको सनातखत भयो। र, सुरु भयो प्रहरी अनुसन्धान।

अनिलसँग उनीहरुको कारोबार र साझेदारी गोप्य थिएन। गत बिहीवार अनिल मण्डल पक्राउ परे - राजधानीको बल्खुबाट।

बाठो भएर बच्न खोज्दा प्रहरीको फन्दामा
माघ १२ र १३ गते लगातार दुई जनाको शव भेटियो। दुई दिनसम्म शव कसको हो प्रहरीले केही भेउ पाउन सकेको थिएन। त्यही बेला जिल्ला प्रहरी कार्यालयले एउटा कुरियर पायो - कागजातसहितको। त्यसमा थियो उखुबारीमा भेटिएका दुई शवको पहिचान र त्यससँग जोडिएका पत्रहरु।


खासमा कुरियरबाट सूचना दिने अरु कोही थिएन, अनिल मण्डल नै थिए। उनले जिल्ला प्रहरी कार्यालय मोरङलाई कुरियर गरेर भेटिएका मृतककोबारे आफूसँग जानकारी रहेको भन्दै पत्राचार गरेका थिए। अनिलले कुरियरमा मृतकहरुको फोटो, नागरिकताको प्रतिलिपि र विभिन्न कम्पनीसँग भएका सम्झैतापत्र पठाएका थिए।

सूचना दिएर चलाखी गरेका उनी त्यतिमै रोकिएनन्। उनले मृतकहरुको मोबाइल नम्बरबाट उनीहरुका आफन्त र साथीभाइलाई समेत म्यासेज गरिरहन्थे।

'उनले ८ दिनसम्म उनीहरुको मोबाइल आफूसँगै राखेको देखिएको छ,' अनुसन्धानमा खटिएका ती प्रहरी अधिकृतले भने, 'उसैले अरुलाई म्यासेज समेत गरेका थिए।' यसरी म्यासेज गरिरहँदा हत्या भएका तीन जनाको अवस्था खोजी गर्नेहरु निश्क्रिय रहे।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell