पोखराः कालोपाटी। त्यसमा लेखिएको वर्णमाला अक्षर। अक्षर चिनाउन खोज्दै छन् शिक्षक। विद्यालयको भित्तामा कोरिएको चित्र हो यो।
तर, चित्रभन्दा फरक छ विद्यालयको दृश्य। विद्यालयको कालोपाटीमा वर्णमाला लेखिन्न आजभोलि। विद्यार्थीले कखरा सिक्दै गरेको भेटिन्न त्यहाँ। विद्यार्थी खेल्ने भलिबल कोर्टमा कुनै एक रेष्टुरेन्टको डाइनिङ टेबल राखिएको छ। चित्र चिनाउन कोरिएको भित्ताका रंग खुइलिएका छन्। विद्यार्थीले पढ्ने विद्यालय आजकाल घाम ताप्ने र कपडा सुकाउने ठाउँ बनेका छन्।
कास्कीको मादी गाउँपालिका -६ मा पर्ने सिद्ध प्राथमिक विद्यालय अक्षर चिनाउनका लागि बन्द छ।
सिद्ध माविमा दुई वर्ष शिक्षकका रुपमा कार्यरत रहेकी श्रीसुब्बा गुरुङ सम्झिन्छिन् विद्यालय परिसर र विद्यार्थीको हाँसो। चिप्ली गाउँकै बासिन्दा रहेकी उनले ०६९ सालदेखि दुई वर्षसम्म विद्यालयमा पढाएकी थिइन्। उनले पढाउँदा ताका लगभग ५० जनासम्म विद्यार्थी थिए। पछि उनी पनि पोखरा झरिन्। अहिले उनी यतैको विद्यालयमा शिक्षकको रुपमा कार्यरत छिन्।
विद्यालय मात्र होइन वडा ६ को चिप्ली गाउँ सुनसान छ। गाउँ र विद्यालयमा बालबच्चाको स्वर गुन्जिँदैन। अट्टाहास हाँसो सुनिँदैन। उनीहरुको चञ्चलता देखिन्न। बसाइँसराइसँगै एक्लिएको छ चिप्ली गाउँ।
पोखरा बजारबाट दुई घण्टाको दुरीमा पर्छ चिप्ली गाउँ। पर्यटकीय गन्तव्य सिक्लेस जाने बाटो यही गाउँ हुँदै हो। गाउँले ०५६ सालमै बिजुली देख्यो। सडक सुविधा पनि पायो। गाउँले थोरै सेवा सुविधा पाए पनि गाउँलेले चिप्लीमा भविष्य अन्धकार देखे। अन्ततः लस्करै मिलेर बनेका ढुंगाले छाएका घरमा लेउ र झार पलाउन थाले। चिप्ली उजाड–उजाड बन्यो।
विदेशिएका युवा र सुविधा खोजीले बसाइँसराइ क्रम बढ्यो। ०६५ सालबाट क्रमिकरुपमा बसाइँसराइ हुन थालेको हो। बसाइँसराइसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुन थाल्यो। ०७५ सालमा गाउँको एकमात्र सिद्ध प्राथमिक विद्यालय महारूद्र माध्यमिकमा गाभियो। चिप्लीबाट डेढ घण्टा तल तप्राङ गाउँमा छ महारूद्र माविमा। उसै त बढेको बसाइँसराइले सुनसान बनेको चिप्ली झन शून्य बन्यो ।
शून्य बनेको चिप्ली गाउँलाई गुल्जार बनाउन वडाले ०७५ सालमा योजना पनि ल्यायो। गाउँका केही व्यक्तिले पनि वडाको योजनामा साथ दिन खोजे । चिप्लीमा घरबास सञ्चालनमा ल्याउने। अर्गानिक परिकारले पर्यटक लोभ्याउने। एकरात चिप्लीमा बसाएर तारा डाँडा चढाउने। तर वडा र गाउँले मिलेर गरेको प्रयास खासै प्रभावकारी भने देखिएन। ६० घर छन् चिप्लीमा। त्यसमा सात घरमा घरवास सञ्चालन सुरु भएको थियो त्यस समय। अहिले वडा ६ का वडाध्यक्ष पसबहादुर बास्तोलाका अनुसार एक घरमा मात्र घरबास सञ्चालनमा छ। आवश्यक परेका समयमा पाहुनालाई अन्य घरमा पनि राखिन्छ।
गाउँमा पानीको असुविधा पनि थियो। गाउँमा प्राथमिक तहसम्म पढाई हुन्थ्यो। माध्यमिक तहमा बालबच्चा पढाउन परिवार पोखरा झर्नुपर्ने बाध्यात्मक परिस्थिति। वडाले चिप्लीमा एक घर एक धारो योजना ल्यायो। गाउँका हरेक घरमा धारा पुगेको छ अहिले। वडाले युवा स्वरोजगार कार्यक्रम पनि अघि सारेको छ। गाउँमा युवालाई उत्पादनमुखी कार्यक्रम ल्याएर आर्थिकरुपमा सब्बल बनाउन वडा अघि सरेको छ।
गाउँलाई गुल्जार बनाउन वडाले कोसिस गरेसँगै शून्य बनेको गाउँमा पुनः केही समय यतादेखि जीवन्त बन्न थालेको छ। ०७६ साल यतादेखि गाउँमा पुनः मानिसको उपस्थिति हुन थालेको हो। बास्तोलाका अनुसार अहिलेको समयमा गाउँमा पहिले जस्तो शून्यता भने छैन।
‘गाउँमा युवा फर्काउन हामीले कार्यक्रम र योजना ल्यायौँ सेवा सुविधा पनि थप्यौँ ०७६ सालयतादेखि क्रमिकरुपमा गाउँमा मान्छे फर्किने क्रम बढेको छ,’ बास्तोलाले भने।
व्यवसायलाई वडाको साथ
नयाँ संरचनामा देश चलेसँगै चिप्ली गाउँमा जनप्रतिनिधिका रुपमा सरकार पुगेको हो। वडाले गाउँलाई पुनः जीवन्त पार्न ०७५ सालदेखि नै लागिपर्यो। घरबास कार्यक्रम ल्यायो । गाउँमा ट्राउट फार्म खोल्न युवा नै कस्सिए। वडाको साथले श्याम गुरुङले ट्राउट माछा पाल्ने योजना बनाए। सयौँको संख्यामा सिक्लेस पुग्ने पर्यटक चिप्लीको बाटो हुँदै जान्छन्। त्यही बाटो चिप्लीमा पसेर ट्राउट माछा चाख्ने पर्यटक हुन्छन्। अहिले सो फार्मको माछा बढी खपत भएकै कारण गण्डकी रेन्बो ट्राउटबाट माछा लैजानुपर्छ। गुरुङले माछा पाल्ने स्थानको गुणा बढाउँदै छन् ।
विदेशबाट गाउँ फर्किएर व्यवसाय गरेका अर्का हुन् माधव ढुंगाना। कतारबाट ०७६ सालमा गाउँ फर्किएर भैंसी फार्म खोले। यस आर्थिक वर्षमा उनले वडाबाट दुई लाख अनुदान समेत पाएका छन्। गुरुङ र ढुंगाना चिप्ली गाउँका लागि उदाहरण हुन्। ढुंगानाको भैंसी फार्मबाट जाने आधाबढी दूध ट्राउट फार्ममा खपत हुन्छ।
उसो त ढुंगाना पनि सुरुआतमा गाउँमा फर्किने सोचमा थिएनन्। विदेशमा कमाएको पैसाले पोखरामा जग्गा किनिसकेका थिए। कतारबाट फर्किएर पोखरामा घर बनाउने सोच बनाए। पछि गाउँ जादा उनलाई त्यतै केही व्यवसाय गर्न मन भयो। पोखरामा घर ठड्याउने सपना बुनेका ढुंगानाले आफ्नै गाउँमा भैंसी पालन गरे। अहिले उनको फार्ममा पचास वटा भैंसी छन्। घिउ मात्र बेचेर उनले महिनाको २ लाख बढी आम्दानी गरिरहेका छन्।
आफनै गाउँ चिप्ली फर्किएर व्यवसायमा सन्तुष्ट भनेका उनी भन्छन्, ‘गर्ने भने गाउँमै छ सुन बसेको मान्छे बालुवामा गएर पैसा खोज्नुभन्दा आफ्नै गाउँठाउँमा सानोतिनो व्यवसाय र सीप गर्नुपर्छ।’
उनको आशा छ एकदिन गाउँमा उनी जसरी नै अन्य साथी फर्किनेछन्।