कोरोना संक्रमणको त्रास तीव्र भइ पहिलो लकडाउन गरिएको बेला देवेन्द्र बब्लु जन्मथलो बाग्लुङ पुगेका थिए। त्यही समय उनको छिमेकी काकीले विदेशमा रहेका श्रीमानसँग भेट्न नपाउनुको पीडा सुनाइन्। कोरोनाले उनको र श्रीमानको भेट हुने समय थप बढाउने हो कि भन्दै उनले भनिन्, 'सधैँ यस्तै भयो भने हाम्रो भेटै हुन्न होला। अनि सधैँ पर्खेको पर्खै त होला नि!’
काकीको त्यो संवादबाट देवेन्द्र निकै प्रभावित भए। 'भेटै हुन्न र पर्खेको पर्खै छु' शब्दलाई मोबाइलको नोटप्याडमा टिपे। लकडाउन खुकुलो भएसँगै उनी काठमाडौं फर्किए। मनोरञ्जन क्षेत्र विस्तारै फेरि ब्युँतिदै थियो। कुन गीत बनाउने भनेर उनी सोचिरहेका थिए। त्यहीबेला मोबाइलमा टिपेका शब्दहरु उनलाई याद आयो। काकीको संवादबाट टिपेका शब्दहरुमा थप शब्द थपे उनले र बन्यो छोडेर जानेहरुको यादमा पर्खनेको पीडा बोल्ने गीत :
बतास बनि छुन आइदेउन
फेरि मेरि हुन आइदेउन
म त पर्खेको पर्खै छु…
चार साताअघि रिलिज भएको यसै गीतले देवेन्द्र बब्लु निकै चर्चामा छन्। गीतलाई टिकटकदेखि युट्युबमा रुचाइएको छ। लोकभाका शैलीको गीतलाई लगभग ४० लाख भ्युज मिलिसकेको छ युट्युबमा। भिडियोमा खासै कथा नभएपनि शब्द, कम्पोजिसन र स्वरको तालमेल मिलेर दर्शकले मन पराएको उनी बताउँछन्।
भन्छन्,‘यो गीतलाई दर्शकले निकै मन पराउनु भएको छ। छोटो समयमै गीतले निकै राम्रो प्रतिक्रिया पाएको छ। गीत हिट भएसँगै धेरैले गीतको लागि अफर गर्नु भएको छ। मलाई नै यस्तो गीत चाहियो। सँगै प्रोजेक्ट गरौँ न भन्नुहुन्छ।’
गीत रिलिज हुनु। ठ्याकै ओमोक्रन भेरियन्ट फैलिएसँगै स्टेज कार्यक्रमहरु बन्द हुनु। यो संयोगलाई उनी ‘ब्याड लक’को रुपमा लिन्छन्। ‘अहिले स्टेज कार्यक्रमहरु निकै हुने समय हो। तर गीत निस्केपछि ठ्याकै बन्द भयो। गीत निकाल्ने समय अलि मिलेनछ। अडियन्ससँग कनेक्ट हुन नपाउँदा नमज्जा लागिरहेको छ। तर कसलाई दोष दिनु समय नै खराब चलेपछि,’ उनले भने।
स्टेज कार्यक्रम नहुँदा दर्शकले कतै गीत बिर्सिने त होइन भन्ने डर छ उनमा। 'अहिले निकै कडा प्रतिस्पर्धा छ। दर्शकले पनि नयाँ नयाँ गीतहरु खोज्छन्। दुई/तीन महिनासम्म अर्को गीत हिट पनि हुन सक्छ। जसले डर पनि लागिसकेको छ,' बब्लुले भने।
+++++
वि.सं २०७० साल। एसएलसी सकेपछि देवेन्द्र दाइ प्रकाश सपुतसँगै काठमाडौं आए। पत्रकारिता विषयमा प्लस टु को पढाई सुरु गरे। आर्थिक अभावले पढाईका साथै रेस्टुरेन्टमा वेटरको काम गर्न थाले उनी। तलब थियो ३५ सय। राति २ बजेसम्म उनी वेटरको काम गर्थे। अनि बिहानै ५ बजे कलेज जान्थे। यसरी नै २ वर्ष बित्यो।
प्लस टु सकाएपछि उनले जापान जान भिसाको लागि निवेदन दिए। सबै साथीहरुको भिसा आयो तर, देवेन्द्रले भिसा पाएनन्।
‘जापानको भिसा लाग्ने कन्फर्मजस्तै थियो। घरमा समेत जापान जान्छु होला भनिसकेको थिएँ। बेलुका ७ बजे रिजल्ट आउनु पर्ने। तर ९ बज्दासमेत फोन आएन। १० बजे मैले नै फोन गर्दा भिसा आएन भन्नुभयो। त्यसबेला निकै रोएको थिएँ,’ उनले सुनाए।
भिसा लागेन। अब के गर्ने? द्विविधामा तीनमहिना बित्यो। गाउँमा छँदा विद्यालयदेखि देउसी–भैलोको कार्यक्रमसम्म गीत गाउँथे देवेन्द्र। जसकारण गीतसंगीतसँग उनको सम्बन्ध नौलो थिएन। रेस्टुरेन्टमा काम गर्दागर्दै लाइभ म्युजिक सुन्दा यति त म पनि गाउन सक्छु सोच्थे उनी।
त्यसपछि उनी गीतसंगीतको यात्रा तिर मोडिए। ठमेलको रेस्टुरेन्टमा लाइभ गीत गाउन थाले उनी। अर्को दोहोरी साँझमा उनका दाई प्रकाश सपुत पनि दोहोरी गाउँथे। सुरुमा गाउन–बजाउन समस्या भएपनि पछिपछि भने लय समातिहाले उनले। डेढ वर्षसम्म उनले दोहोरी साँझमा पप र आधुनिक गीत गाएका थिए।
त्यसपछि रेडियो सगरमाथामा उनले ‘इन्टर्न’ गर्न थाले। बोलाइमा बाग्लुङको शैली आउने भएर सुरुमा कार्यक्रम चलाउन पाएनन्। १ वर्षपछि बल्ल रेडियोमा ‘अन एयर’ बोल्ने मौका पाए। रेडियोमा काम गर्दा शैली थिएटरका नवराज बुढाथोकीसँग देवेन्द्रको चिनजान भयो। नवराजकै माध्यमबाट उनी शैली थिएटरसम्म जोडिए।
सुरुमा सानो सानो भूमिका निभाउँदै थिएटारमा अभिनय सिक्न थाले। कचहरी देखि सडक नाटकसमेत गरिसकेका छन् देवेन्द्रले। नाटक ‘माटोको फूल’ बाट भने उनी मुख्य भूमिका देखिएका हुन्। सोही नाटकको दृश्यमा एउटा गीत चाहिने भनेपछि उनले आफ्नो दृश्यका लागि गीतसमेत लेखे, ‘कसरी कसरी माया बस्यो बेस्सरी’।
एक महिनासम्म नाटक मञ्चन भयो। नाटक हेरिसकेपछि दर्शकहरुले ‘कसरी कसरी’ गीत गुन्गुनाउँदै गरेको सुनिन्थ्यो। साथै सहकर्मीहरुले पनि यो गीत रेकर्ड गर्न हौसला दिन्थे। नाटकका लागि लेखेको ‘कसरी कसरी माया बस्यो बेस्सरी’ रेकर्ड गरे। वि.सं २०७६ मा रेकर्ड गरिएको यो नै उनको पहिलो गीत हो।
रेकर्ड गरेपछि दाइ प्रकाशकै युट्युब अकाउण्टबाट गीत सार्वजनिक गरे। त्यतिबेला प्रकाश संगीतक्षेत्रमा सफल भइरहेका थिए। गीतलाई राम्रो प्रतिक्रिया मिलेपछि उनलाई यस क्षेत्रमा आएर काम गर्ने हौसला मिल्यो। दाइले राम्रो छ भनेपछि त थप हौसिए देवेन्द्र। रेडियो सगरमाथाको जागिर छोडेर उनी सांगीतिक यात्रातिर नै लागे।
थिएटरमा काम गर्दा प्राविधिक कुराहरुको राम्रो ज्ञान थियो उनलाई। कहिलेकही सुटिङतिर पनि हिँड्थे। एकदिन भिडियो निर्देशन गर्ने अफर आयो। पहिलोपटक उनले ‘के छ ओइ पानपाते ठुली’ तीजको गीत निर्देशन गरे। गीतमा उनकै दाई प्रकाश फिचर्ड छन्।
म हाँसे हाँस्छौ र? देखि चर्चा नै चर्चा
लकडाउनमा घर गएको बेला देवेन्द्रलाई आफ्नै रैथाने भाषाले लोभ्यायो। बाग्लुङतिर ‘आइजा का, बसम का’ लवज खुबै चल्छ। आफ्नै लवजमा गीत निकाल्न हुटहुटी जाग्यो उनलाई। युवापुस्ताले प्रेम प्रस्ताव राख्दा कसरी राख्छन् होला भनेर सोच्न थाले।
'म हाँसे हाँस्छ्यौ र? हाँस्छु का, बिहे गर्छौँ र? गर्छु का,' यी लाइनहरुलाई दाइका छोराछोरीलाई अगाडि राखेर भन्न लगाए। उनीहरुले छिटै अन्तरा टिपेपछि गीत रेकर्ड गर्न काठमाडौं आए। अनि रेकर्ड भयो 'मुसुक्क हाँस' बोलको गीत।
यस गीतले देवेन्द्रको जीवन नै कायापलट गरिदियो। गीत टिकटकदेखि युट्युबमा रुचाइएपछि बब्लु निकै चर्चित भए। स्टेज कार्यक्रमदेखि अन्यबाट गीतको अफर आउन थाल्यो। यस गीतलाई जीवनकै ‘टर्निङ प्वाइन्ट’ भन्न रुचाउँछन् देवेन्द्र।
देवेन्द्र गीत लेख्नेदेखि गाउने, अभिनय गर्ने र भिडियो निर्देशनसमेत गर्छन्। उनी आफूलाई गायकभन्दा पनि राम्रो ‘पर्फमर’ भन्न रुचाउँछन्। तर पहिलो रोजाई भने सांगितिक क्षेत्र नै हो।
‘म लेख्दा र गाउँदा निकै रमाउँछु। पहिलो प्राथमिकतामा सधैँ गीत संगीत नै पर्छ। अभिनयमा पनि रुचि छ। तीन/चार वर्ष थिएटरमा काम गरेकाले अभिनयको किरा म भित्र छ। निर्देशन चाँहि मौका पर्दा गर्छु,’ उनले भने।
यतिखेल जापान जान नपाएको पछुतो छैन उनलाई। भगवानले नै ‘तिमी कलाकारितातिर जानुपर्छ’ भनेर भिसा ‘क्यान्सिल’ गरिदिएको उनले बताए।
प्रकाशको भाइभन्दा पनि सिर्जनाले चिनोस्
देवेन्द्रका दाइ प्रकाश सपूत सफल कलाकारमा पर्छन्। तर देवेन्द्र भने संघर्षरत छन्। आफूलाई प्रकाश सपूतको भाइभन्दा खुसी मिल्ने उनको भनाई छ।
‘प्रकाश सपूतको भाइभन्दा खुसी लाग्छ। उहाँको नाम र सिर्जनाहरु निकै चर्चित छन्। म बाट पनि उहाँजस्तै खोजिरहेका हुन्छन् धेरैले। दाइजस्तै गर भनेर निकै प्रेसर आइरहेको हुन्छ,' उनले भने।
तर जतिखेर पनि प्रकाश सपूतकै भाइ भनेर ‘ट्याग’ लाग्दा भने चित्त बुझ्दैन् उनलाई।
‘दाइको र मेरो अनुहार एउटै भएर मानिसहरु झुक्किन्छन्। धेरैलाई प्रकाशको भाइ भनेर चिन्ने बानी परिसकेको छ। प्रकाश सपूतको गीत भनेर हेरेको भाइको पो रहेछ भन्नुहुन्छ। त्यतिखेर राम्रो गर्न सकिन् कि भन्ने फिल हुन्छ। जुन घाटा हो जस्तो लाग्छ। मेरो सिर्जनाहरु मेरो भनेर लिइदियोस् भन्ने हुन्छ,’ देवेन्द्र भन्छन्।
आफ्ना गीतहरु हिट हुन टिकटकले फाइदा पुर्याएको ठान्छन् उनी। 'टिकटक अहिलेको प्रचार गर्ने माध्यम हो। पहिले बाटोछेउमा पोस्टर टाँसेर फिल्मको प्रचार गरिन्थ्यो। रेडियोमा गीत सुनेर क्यासेट र सिडी किन्ने जमना थियो। तर अहिले टिकटकमा सानो टुक्रा सुनेर दर्शकहरु युट्युबसम्म पुग्छन्। तर टिकटकमा कलाकारहरुले स्टारडम मेन्टन गर्नुपर्ने आवश्यक छ' उनले भने।
आफ्ना गीतहरु हिट हुन प्राय: समय लाग्ने गरेको उनको भनाई छ। छोटो समयमै हिट हुनेगरि आफ्नो ‘ब्राण्ड’ बनिनसकेको उनले बताए। 'गीत आएको छ हेरिहालौँ भन्ने नाम होइन देवेन्द्र बब्लु। मेरो सिर्जनाले नै पेलेर हो गीतहरु हिट हुने। मेरो हरेक गीतहरु हिट हुन समय लाग्छ। अलि छिटो हिट भएको 'पर्खेको पर्खै' गीत नै हो।'
धेरैजसो मानिसहरु गीत रेकर्ड गरेर भिडियो बनाउँछन्। तर देवेन्द्रले भने एउटा गीतमा पहिले भिडियो तयार गरे अनि गीत। ३५ वर्षीया महिला र २६ वर्षको प्रेमलाई 'मनमाया' मार्फत पोखेका छन् देवेन्द्रले। किनकी उनलाई गीतमार्फत कथा देखाउनु थियो। यो फरक शैलीको गीत देवेन्द्रलाई पनि निकै मन पर्छ।
देवेन्द्रले आफ्नै सात/आठ वटा गीतहरु निकालिसकेका छन्। म्युजिकसँगै उनको सपनाको आकार पनि फराकिलो हुँदैछ। देवेन्द्रको अभिनय रहेको 'परदेशी २' रिलिजको पर्खाइमा छ। साथै 'गणपती' मा पनि देवेन्द्र मुख्य भूमिकामा देखिँदैछन् उनी। आफैँ लेख्ने र निर्देशकिय पाटो हेर्ने भएर फिल्म मेकिङमा पनि आउने मन रहेको उनले बताए।