PahiloPost

Jun 24, 2024 | ११ असार २०८१

खोप लगाउनेको संख्या कम भयो, त्यसैले खोप कार्ड लागू गरियो : स्वास्थ्य मन्त्रालय



पहिलोपोस्ट

खोप लगाउनेको संख्या कम भयो, त्यसैले खोप कार्ड लागू गरियो : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सबै नागरिकको पहुँचमा कोरोना भाइरस विरुद्धको खोप पुर्‍याउनका लागि खोप कार्ड लागू गर्ने नीति लिनु परेको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले कोरोना भाइरसविरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई खोपको दायरामा अनिवार्य रुपमा ल्याउनका लागि यस्तो नीति लिनु परेको बताएकी हुन्।

‘पहिलाको तथ्यांक हेर्ने हो भने मान्छे खोप लिन नै आएनन्। खोप अभियानलाई तीव्र बनाइए पनि  कतिपय व्यक्तिहरु खोप लिन नआएको अवस्था थियो,’ मिश्रले भनिन्, ‘ओमोक्रनका कारण संक्रमण बढिरहँदाखेरी भ्याक्सिन लिनलाई भीड भयो।’

उनले खोप कार्ड अनिवार्य गर्नुको कारण जनतालाई सास्ती दिनु नभएको भन्दै सार्वजनिक सेवा दिने ठाउँ नजिकै कोभिडविरुद्धको खोप केन्द्रको व्यवस्था गरेको दाबी गरिन्। उनले सार्वजनिक सेवा लिनुअघि कोभिडविरुद्धको खोप लिन सहज हुने व्यवस्था सरकारले गरेको समेत बताइन्।

‘कुनै सार्वजनिक सेवा दिने संस्थाको छेउमा लगभग आधि घण्टा भित्र वा नजिकै खोप केन्द्र हुनुपर्छ। त्यो हिसावले यसले के गर्छ भने यदि उसँग खोप कार्ड छैन भने पहिले गएर खोप लिन्छ अनि मात्रै सेवा लिन आउँछ भन्ने कुरा मात्रै हो। यो चाँही खोपमा पहुँच बढाउन राज्यले लिएको नीति हो।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप अभाव नभएको भन्दै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न र कोभिड १९ विरुद्धको खोप लगाउन अपील गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell