काठमाडौं : कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमणबाट हुन सक्ने जोखिम कम गर्न सरकारले ‘बुस्टर डोज’ दिइरहेको छ। हाल ६० वर्षभन्दा माथि उमेर समूहका साथै गम्भीर रोग भएका र अग्रपंक्तिमा खटेर काम गरिरहेकाहरुलाई ‘बुस्टर डोज’ दिइँदैन। केही स्थानमा भने सबै उमेर समूहलाई खोप प्रदान गरिएको छ।
सरकारले यसअघि पूर्ण खोप लगाएका मानिसलाई उसले लगाएको खोप भन्दा फरक खोप ‘बुस्टर डोज’ का रुपमा दिने निर्णय समेत गरेको छ। सरकारले यसरी पहिला लगाएको खोप भन्दा फरक खोप दिने भनेपछि त्यसलाई लिएर केही शंका पनि उत्पन्न भएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने ‘बुस्टर डोज’का रुपमा अर्कै खोप लगाउँदा फरक नपर्ने जनाएको छ। मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले ‘इम्यूनिटी रेसपोन्स’ गर्न सहज हुने भएकाले जुनसुकै खोप लगाएका नागरिकहरुले पनि ‘बुस्टर डोज’को लागि फरक खोप लगाउन पाउनेगरी पछिल्लो निर्णय गरिएको बताइन्।
कोभिड १९को अनुसन्धान र तथ्यांक दैनिक परिवर्तन हुने भएकाले सरकारले पनि आफ्नो पछिल्लो निर्णय परिवर्तन गर्दै फरकफरक खोप दिने निर्णय गरेको उनले बताइन्।
‘पहिला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुन खोप लगाइएको छ, त्यही खोप बुस्टर डोजका रुपमा लगाउनुपर्छ भनेर निर्णय गरेको थियो। त्यसलाई पछि परिवर्तन गरियो’ उनले भनिन्,’ त्यसको वैज्ञानिक आधारहरु छन।’
विश्व स्वास्थ्य संगठनको स्ट्राटिजिक एडभाईजरी बोर्डले निर्णय गरेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले पहिला एउटा खोप लगाएका व्यक्तिलाई बुस्टर डोज दिने निर्णय गरेको उनले बताइन्।
सरकारले यसअघि पहिलो र पूर्ण मात्रा भेरोसेल खोप लगाएकाहरुलाई दोस्रो मात्रा र बुस्टर डोजका रुपमा ‘अस्ट्राजेनेका वा कोभिसिल्ड’ दिने निर्णय गरेको छ। चिनियाँ कम्पनीले उत्पादन गरेको भेरोसेलको भण्डारण धेरै नभएकोले सरकारले त्यसको सट्टा बुस्टर डोजमा अर्कै कम्पनीको खोप दिने निर्णय गरेको हो।