काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षासँगै देशभर मौसम चिसिएको छ। बिहीवार र शुक्रवार देशका विभिन्न भागमा वर्षासँगै हिमपात भयो। काठमाडौं वरिपरिका डाँडामा समेत हिउँ परेपछि आज विदाको दिन मानिसहरु हिउँ खेल्न फुल्चोकी, नगरकोट, चन्द्रगिरि पुगिरहेका छन्।
नगरकोटमा शुक्रबार हिउँ परेपछि बतासे डाँडाबाट देखिएको दृश्य । तस्वीर : रमेश गिरी, रासस
यस्तै, डडेल्धुरा, ताप्लेजुङ, खलंगा, सिमकोट, तनहुँ लगायतका स्थानमा समेत शुक्रवार हिउँ परेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरीमा हिमपात भएपछि आन्तरिक पर्यटक हिउँ खेल्न पुगेका छन्। शनिवार मौसम सफा भएसँगै घाम लागेपछि मानिसहरु हिउँ खेल्न पुगिरहेका छन्। केही स्थानमा भने हिउँ हटाउन मानिसहरु बिहानै देखि लागिरहेका छन्।
डोटीको बोगटान फुड्सिल गाउँपालिकाको दृश्य
यता, शुक्रबारदेखिको निरन्तर हिमपातले हिउँले सेताम्मे बनेको जुम्ला सदरमुकाम खलङ्गा बजारका किसान भने खुशी छन्। हिउँले हिउँदे बालीनालीलाई निकै फाइदा गर्ने भएपछि जिल्लाका किसानमा खुसी छाएको छ।