
वीरगंज : गण्डक नहरको पानी दुईवटा खोलामा झार्ने काम भइरहेको छ। गहुँ बालीको पानी पर्याप्त भइसकेकोले अनावश्यक पानी पर्साको सिक्टा र तिलावे खोलामा ‘स्किप’ गर्दै झार्ने काम भइरहेको गण्डक नहर हेर्ने नारायणी सिंचाइ व्यवस्थापन कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख प्रसुन मिश्रका अनुसार गत पुसा १३ गतेका दिन गण्डक नहरमा पानी आएको थियो। तर, सोही बेलादेखि बेमौसमी वर्षा बेलाबेलामा अत्यधिक रूपमा भएको कारण किसानहरूले गण्डक नहरको पानी उपयोग गरिरहेका छैनन्। जसकारण पानी गण्डक नहरमा बगाउनुभन्दा खोलामा ‘स्किप’ गर्नु उचित भएको उनले बताए।
हाल बिहारको रामनगरस्थित बाल्मिकी नगरबाट गण्डक नहरमा जानकीटोला हुँदै न्यूनतम ३ सय क्युसेक पानी मात्र आइरहेको उनले बताए। पर्सा, बारा, रौतहटसम्म फैलिएको ८१ किलोमिटर लम्बाईको गण्डकमा १५ वटा ब्लकमध्ये ११ नं. ब्लक अर्थात् आदर्शको तवालसम्म मात्र पानी जाने गरेको छ।