एउटा गहिरो खाडलभित्र अड्किएका बालकको ज्यान जोगाउन जुटेका उद्धारकर्ताहरु लक्ष्य नजिक पुगेका छन्। मोरक्कमा भएको यस घटनामा उद्धारकर्ताले रातभर व्यग्रताका साथ काम गरिरहेको बीबीसीले जनाएको छ।
स्थानीय मिडियाले जनाएअनुसार रायन नामका बालक ३२ मिटर जमिनमुनि फसेका छन्। चार दिन अघि खसेका उनलाई दिनरात गरेर उद्धार गरिँदैछ।
उत्तरी अफ्रिकाको यस घटनाले अहिले विश्वकै ध्यान खिचिरहेको छ। साँघुरो खाडलभित्र बालक अड्किएका छन्। उनलाई बचाउनलाई अर्को भागबाट जमिन भस्काइएको छ। पहिरोको जोखिम पनि भएकाले उद्धार निक्कै संवेदनशील बन्न पुगेको छ।
ढुंगे माटो सहितको भाग भएकाले खन्न समय लागेको छ। त्यसमाथि साँघुरो खाडल भएकाले बालकलाई जोगाउन उद्धारकर्तालाई जोखिमपूर्ण जिम्मेवारी छ। ठूला बुल्डोजर प्रयोग गरेर जमिन भत्काउँदै खाडल छेड्ने तयारी भइरहेको हो।
बालक अड्किएको सतहसम्म डोजरले माटो पन्छाएपछि तेर्सो खनेर बालकलाई झिक्ने तयारी छ।
'हामी करिब करिब नजिक पुगिसकेका छौं,' उद्धारमा खटिएका अवदेसलम माकुन्डिले भने, 'तीन दिनदेखि हामी लगातार काम गरिरहेका छौं। सिंगो उद्धार टोली यसमै सक्रिय छ।'
स्थानीय समय अनुसार मंगलबार रातिदेखि मोरक्कोको उद्धार संयन्त्र परिचालन भएको हो। बालक फसेपछि सुरु भएको उद्धार हेर्न मानिसहरु टाढा टाढादेखि आएका छन्। ट्यामरोटको सानो शह यतिखेर हजारौं कार, बसले भरिएका छन्।
मंगलवार साँघुरो खाडल क्यामरा छिराउँदा बालक जिवित देखेपछि उद्धारका लागि थप सक्रियता बढाइएको थियो। उद्धारकर्ताले बालकलाई माथिबाट अक्सिजन मास्क र खान पठाइरहेका छन। उक्त स्थानमा मेडिकल टिम तयारी अवस्थामा रहेको छ। एउटा हेलिकप्टर पनि उनको उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।
मोरक्कोको सोसल मिडियामा ह्यासट्याग सहित सेभ रायन सहित उनको सकुशल उद्धारको कामना गर्नेक्रम बढेको छ।