काठमाडौं : आज वसन्त पञ्चमी। यस अवसरमा हुनुमानढोकास्थित नासल चोकमा आज वसन्त श्रवण गरिँदैछ। उक्त समारोहमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नासल चोक पुगेका थिए।
वसन्त श्रवणमा कवि जयदेवले रचना गरेको सरस्वतीसम्बन्धी श्लोक पाठ गर्ने परम्परा रहेको हुनुमान ढोका दरबार हेरचाह अड्डा कार्यालयका प्रमुख सन्दीप खनालले जानकारी दिए। यो पाठ १५ श्लोकको रहेको छ।
आजका दिन वसन्त श्रवण गरिने भएकाले यो पर्वलाई वसन्त पञ्चमी पनि भनिन्छ।
राष्ट्रपति विद्यादेवी भण्डारी हनुमानढोकामा वसन्त श्रवणका लागि जाने क्रममा महाराजगञ्ज-एनएसी र बालाजु-एनएसी, साथै रत्नपार्क हुँदै चल्ने सवारी साधन संचालनमा ट्राफिक प्रहरीले रोक लगाएको थियो। सवारी हुनु अघि देखिन नै ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनलाई ‘डाइभर्ट’ गरेका थिए। कार्यालय समयमै वसन्त श्रवणको साइत परेको हुँदा सार्वजनिक सवारीलाई ‘डाइभर्ट’ गरिएपछि काममा हिँडेका सर्वसाधरण बिचमै अलपत्र परेका थिए।