PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

बेइजिङ ओलम्पिकसँग सम्बन्धित १० जनामा कोभिड-१९ संक्रमण पुष्टि



पहिलोपोस्ट

बेइजिङ ओलम्पिकसँग सम्बन्धित १० जनामा कोभिड-१९ संक्रमण पुष्टि
Photo: Annice Lyn/Getty Images

बेइजिङमा शीतकालीन ओलम्पिकसँग सम्बन्धित १० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। बेइजिङ ओलम्पिक कमिटीले आइतवार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो।

तीमध्ये ४ जनामा एयरपोर्ट उत्रिएपछि परीक्षण गर्दा कोभिड संक्रमण पुष्टि भएको हो। अन्य ६ जना भने ‘क्लोज्ड लुप’मै रहेका व्यक्तिहरु हुन्। चीनले ओलम्पिकको लागि ‘क्लोज्ड लुप’को अवधारण ल्याएको छ, जसमा रहेका  ब्यक्तिहरु बाहिरी दुनियाँको सम्पर्कमा आउन पाउँदैनन्।

१० मध्ये ६ जना खेलाडी तथा टिम अफिसियल रहेको विज्ञप्तिमा उल्लेख छ। चीनले ‘शून्य-कोभिड’ नीति अनुरूप बेइजिङ ओलम्पिकमा कडा कोरोना भाइरस मापदण्ड अवलम्बन गरिरहेको छ।

‘क्लोज्ड लुप’मा कसैलाई कोभिड पोजिटिभ देखिए उनीहरुलाई तत्काल खेलबाट बाहिर निकालिन्छ। लक्षण देखिएका संक्रमितलाई उपचारको लागि तत्काल अस्पताल लगिने गरिएको छ। लक्षण नदेखिएका संक्रमितलाई भने आइसोलेसनमा राखिन्छ। सबै लक्षण नहराउँदासम्म र लगातार दुई पटक नेगेटिभ रिपोर्ट नआएसम्म उनीहरु ‘क्लोज्ड लुप’मा फर्किन पाउँदैनन्।

अफिसियलहरुले बेइजिङ ओलम्पिकमा कोभिड-१९ संक्रमण घट्दै जाने आशा राखेका छन्। उनीहरुले आफ्नो लक्ष्य शुन्य कोभिड संक्रमण नभएको शुन्य फैलावट भएको स्पस्ट पारेका छन्।

‘खेलाडी तथा अफिसियलहरु आउने क्रम कम भएसँगै पोजिटिभ केसहरु पनि कम हुने छन्’, बेइजिङ २०२२ स्वास्थ्य अधिकारी हुआन चुनले प्रेस कन्फ्रेन्समा भने, ‘क्लस्टरमा संक्रमण फैलिएको देखिएको छैन। हालसम्म प्रतियोगितामा यसले प्रभाव पारेको छैन।’

जनवरी २३ देखि आइतवारसम्म ‘क्लोज्ड लुप’ भित्र ८ लाख १४ हजार ३७६ कोभिड-१९ परीक्षण गरिएको छ। हालसम्म १२ हजार ५५५ जना व्यक्तिहरु बेइजिङ आइपुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell