PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

काभ्रेमा हिउँ पर्दा अन्नबाली नष्ट, तर पनि किसान छन् खुशी



पहिलोपोस्ट

काभ्रेमा हिउँ पर्दा अन्नबाली नष्ट, तर पनि किसान छन् खुशी
काभ्रेको बेथानचोक गाउँपालिकाको ढुङ्गखर्क आसपासका क्षेत्रमा हिमपात भएपछि हिउँले छापेको ढुङ्गखर्क गाउँ। तस्विर: पेमा लामा, रासस

काठमाडौं : काभ्रेको अग्लो भेग महाभारत पहाडको उच्च भागमा परेको हिउँ अझै पग्लिएको छैन। बिहीबार रातिदेखि शनिबार बिहानसम्म परेको हिउँ खेल्न डाँडाकाँडामा युवाहरुको भीड लागेको छ।

जिल्लाकै अग्लो भाग बेथानचोक गाउँपालिकाको बेथानचोक नारायणस्थानडाँडा हिउँले झपक्कै ढाकेको छ। हिउँ परेका कारण बारीमा पाक्दै गरेको अन्नबाली नष्ट भए पनि अब लगाउने अन्नबाली सप्रिने आशामा छन् यहाँका किसान। बोथानचोक गाउँपालिका–१ च्यामम्राङबेँसी कलङसिका दुर्गप्रसाद हुमागाँईले बूढाबूढीका लागि कष्टकर भए पनि अब लगाउने अन्न बाली फस्टाउने आशामा रहेको बताए।

‘बारीमा लगाएको तोरी, जौ, गहुँ सबै नष्ट भयो। बारीमा सेताम्य भएर छोपेको हिउँको थुप्राले सबै बाली नष्ट भए पनि अब गर्ने खेती सप्रिन्छ होला,’उनले भने।

विसं २०६१-६२ तिर परेको हिउँको सम्झना गर्दै उनले अहिले त्यसपछिको धेरै हिउँ परेको समय भएकाले केही क्षति व्यहोर्नु परे पनि अब गर्ने खेती राम्रो हुने बताएका हुन्।

बेथानचोक गाउँपालिका–३ का ठाकुर तिमल्सिनाले हिउँ परेपछि जमिन चिसो हुने र खेतीपातीका लागि राम्रो हुने बताए।

‘केही क्षति त सहनै पर्छ, तर अब आउने दिन हामी किसानका लागि हिउँले धेरै खुशी ल्याएको छ’, उनले भने,‘पाकेको बाली र उम्रँदै गरेको बाली हिउँले थिचेपछि त सबै सखाप हुन्छ। तर अब गर्ने खेती निकै राम्रो हुन्छ।’

बिहीबार रातिदेखि परेको हिमपातका कारण जिल्लाका उच्च भागमा असर परेको छ। जिल्लाको कोसीपारिको अग्लो भाग भूम्लु गाउँपालिकाको चौबासडाँडा, तेमालको नारायणस्थानलगायत रोशी र बेथाचनोकको अग्लो भाग महाभारत क्षेत्रका अधिकांश क्षेत्रमा हिउँ परेपछि चिसो बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell