PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

वाग्मती प्रदेशसभाले पाएन स्थायी संरचना, भवन निर्माणको काम अलपत्र



निशा गुरुङ

वाग्मती प्रदेशसभाले पाएन स्थायी संरचना, भवन निर्माणको काम अलपत्र

हेटौंडा : वाग्मती प्रदेशसभा स्थापना भएको ४ वर्ष भइसक्दा पनि हालसम्म प्रदेशसभाले स्थायी संरचना पाउन सकेको छैन। हेटौंडा-१० मा रहेको तत्कालीन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा अस्थायी रुपमा बसिरहेको प्रदेश संसद भवन र प्रदेशसभा सचिवालयले आफ्नै भवन पाउन सकेको छैन।

वाग्मती प्रदेशको स्थायी राजधानी हेटौंडा टुंगिएको दुई वर्षभन्दा बढी भइसक्दा पनि प्रदेशसभाले स्थायी संरचना पाउन नसकेको हो। गत वर्षबाट हाल अस्थायी रूपमा रहेको प्रदेशसभा सचिवालय परिसरमा नै स्थायी संरचना निर्माणको कार्य शुरु गरिए पनि हालसम्म पूर्णता पाउन सकेको छैन।

२०७७ साल कात्तिक १९ गते वाग्मती प्रदेश सरकारले २०७९ सालको बैशाखसम्म भवन निर्माण गरिसक्ने गरी सम्झौता गरेको थियो। सम्झौता भएको समयदेखि हालसम्म करिब १५ महिनाको अवधिमा सो सभाहलको २५ प्रतिशत मात्र काम भएको शहरी विकास तथा भवन कार्यालय हेटौंडाका प्रमुख राजेश कुमार पौडेलले जानकारी दिए।

सभाहल निर्माणको ठेक्का अवधि समाप्त हुन ३ महिना मात्र बाँकी रहँदा समेत समयमै भवन निर्माण कार्यले पनि खासै गति लिन सकेको छैन।

शहरी विकास तथा भवन कार्यालय हेटौंडाका प्रमुख पौडेलले कार्यालयले ३ पटकसम्म निर्माण कम्पनीलाई समयमै काम सक्न पत्र काटिसकेको समेत बताए।

‘२५० जना अट्ने सो सभाहल ‘इपीएस स्याण्डवीच’ प्रविधिबाट निर्माण भएको हो। भवनको फ्लोरिङ र ट्रष्टको मात्रै काम भएको छ‚ जुन करिब आधा मात्रै हो। यही गतिमा काम हुने हो भने निर्धारित समयमा भवन निर्माण कार्य सम्पन्न नहुने निश्चितप्रायः छ’ उनले भने।

प्रदेश सरकारले ४ करोड ९४ लाख नौ हजार ९ रुपैयाँमा संघीय संसदमा संरचनामा भवन निर्माण गर्न अर्घाखाँची सगुन पारामाउन्ट ज्वाइन भेन्यु जेभीसँग सम्झौता गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell