PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कथा ‘नाइटिङ्गेल अफ इन्डिया’को : जब लता मंगेशकरको गीत सुनेर जवाहरलाल नेहरु रोए



पहिलोपोस्ट

कथा ‘नाइटिङ्गेल अफ इन्डिया’को : जब लता मंगेशकरको गीत सुनेर जवाहरलाल नेहरु रोए
Photo : Francis Mascarenhas / Reuters

चर्चित भारतीय गायिका लता मंगेशकरको आज निधन भएको छ। कोरोना संक्रमण देखिएपछि अस्पतालमा उपचाररत् लताको आज बिहान निधन भएको हो। ‘मल्टी अर्गान फेलर’का कारण उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।

उनको मृत्युसँगै सांगीतिक क्षेत्रमा ठूलो नोक्सान हुनुका साथै एक युगकै अन्त्य भएको छ। हजारौँ गीतमा आवाज दिएर ‘नाइटिङ्गेल अफ इन्डिया’को उपमा पाएकी लताको जीवन भने त्यति सहज थिएन। अनेकौँ संघर्षपछि लताले सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गरेकी थिइन्।

उनको मेहनेत र साधनाका कारण उनले हजारौँ गीतहरुमा स्वर भर्न सफल भइन्। त्यसैले त लतालाई जो कोहीले सम्झिरहेका छन्। मंगेशकरको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई दु:खी बनाएको बताएकी छिन्। धेरै नेपाली गीतमा आवाज दिएकी लतालाई भण्डारीले ट्वीट गर्दै श्रद्धाञ्जली दिएकी हुन्।

लताको बाल्यकालदेखिको गीतसंगीतको सफर

२८ सेप्टेम्बर १९२९ मा जन्मेकी लताको पारिवारिक माहोल नै संगीतमय थियो। उनका बुवा दीनानाथ गीत गाउनुका साथै नाटक कम्पनी सञ्चालन गर्थे। उनका बुवाले धेरै छात्राहरुलाई संगीत शिक्षा पनि दिएका थिए।

लताले ९ वर्षको छँदा पहिलोपटक स्टेजमा आफ्ना बुवासँग ‘राग खंबामती’ गाएकी थिइन्। तर, उनका बुवा भने छोरीको आवाज फिल्ममा नगुञ्जियोस् भन्ने चाहन्थे।

सन् १९४२ मा लताले मराठी फिल्मको लागि गीत गाएकी थिइन्। गीत त गाइन् तर फिल्म भने बनेन। त्यसको एक महिनापछि उनका बुवाको निधन भयो।

लताका तीन बहिनीहरु आशा भोस्ले, उषा मंगेशकर, मीना मंगेशकर र भाइ हृदयनाथ मंगेशकर छन्। बुवाको मृत्युपछि परिवारको सम्पूर्ण जिम्मेवारी लताकै काँधमा पर्‍यो।

उनले नाटकमा सानो-सानो भूमिकामा अभिनय गरेर परिवारको लागि पैसा जोहो गर्थिन्। अभिनय गरेता पनि लतालाई यो क्षेत्र मन परेको थिएन। किनकी उनी आफ्नो जीवन संगीतमै बिताउन चाहन्थिन्।

यसैबीच, उनको भेट संगीत निर्देशक उस्ताद गुलाम हैदरसँग भयो। लताको आवाज सुनेपछि हैदरले उनलाई फिल्म निर्देशकहरुसँग भेट गराए। तर, मसिनो स्वर भएको भन्दै उनलाई ‘रिजेक्ट’ गरियो। गुलाम हैदरले भने लतामा निकै सम्भावना देख्थे। जसकारण उनले फिल्म ‘मजबुर’मा लतालाई ‘प्लेब्याक सिङ्गिङ’ को अवसर दिए।

फिल्ममा गीत गाउन अस्वीकार गरेको बेला गुलामले लतालाई हौसला दिन्थे। उनी लतालाई भन्थे ‘तिमी एक दिन ठूलो कलाकार बन्नेछौ। जो मान्छे अहिले रिजेक्ट गरिरहेका छन् तिनीहरु तिम्रो पछि लाग्नेछन्।’ नभन्दै उनको भनाइ सत्य सावित भयो।

फिल्म ‘मजबुर’को गीत सुनेपछि उनलाई गीतको लागि अफर आयो। यसपछि कहिल्यै फर्किएर हेर्नु परेन। त्यसपछि लताले संगीतकार किशोर रफी, मुकेश हेमन्त कुमार जस्ता गायकहरुसँग गीत गाइन्। कम वर्षमा नै लताले आफ्नो दममा सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाइन्।

राम्रो कलाकार हुँदा पनि उनले धेरै समस्या सामना गर्नु पर्‍यो। रोयल्टीको मुद्दामा उनले गायक मोहम्मद रफी, शोम्यान राज कपूर र एचएमभी कम्पनीसँग भिडेकी थिइन्। लताको राज कपूरसँग पनि यही मुद्दामा विवाद भयो। र, उनीसँग काम गर्न अस्वीकार गरिन्।

७० को दशकमा राज कपूर आफ्नै मनपर्ने गायिका लताकोमा गए र बबी फिल्मको लागि गीत गाउन लगाए। आफूले कस्तो गीत गाउने भनेर लताले आफ्नै स्वेच्छाले गीत छानिन्। त्यसबेला महिला गायिकाले यो गर्नु ठूलो कुरा थियो।

लताले आफ्नो करियरमा धेरै अवार्ड जितिसकेकी छिन्। सन् १९५८ सम्म फिल्मफेयरमा सर्वश्रेष्ठ गायनतर्फ अवार्ड दिने व्यवस्था थिएन। सन् १९५९ मा जब अवार्ड दिन शुरु भयो तब महिला र पुरुष गायकको लागि एउटै विधा थियो। उक्त विधाबाट फिल्म ‘मधुमती’को ‘आजा रे परदेशी’ गीतबाट लताले पहिलो अवार्ड जितेकी थिइन्।

उनले फिल्म ‘सुलतान’का लागि ‘ए दिले नान्दा’, ‘अनुपमा’को लागि ‘कुछ दिल ने कहाँ कुछ भी नही’ र ‘अनामिका’को लागि ‘बाहों मे चले आओ’ गाएकी थिइन्। उनले ६०/७० वर्षको उमेरमा त्यतिबेलाका चर्चित माधुरी दीक्षित, काजोल, जूही चावला, प्रीति जिन्टालगायतका अभिनेत्रीहरुको लागि गीत गाएकी थिइन्।

उनको र तत्कालिन भारतीय प्रधानमन्त्री जवाहर लाल नेहरूसँग जोडिएको रमाइलो किस्सा छ। लताको स्वर रहेको ‘ए मेरे वतन के लोगो’ सुनेर नेहरू रोएका थिए। निर्देशक महबुब खान आएर लतालाई नेहरूसँग भेट्न लगे। त्यतिखेर नेहरूले लताको गीत सुनेर रोएको बताएका थिए।

लताले ३६ भाषाका ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छिन्। उनले एक हजारभन्दा बढी फिल्ममा गीत गाएकी छन्। सन् १९६० देखि सन् २००० को कालखण्डमा निर्माण भएका अधिकांश चलचित्रमा लताको स्वर समावेश हुन्थ्यो।

लताको फिल्म क्षेत्रमा निकै योगदान छ। सन् २०१३ मा भारतीय फिल्म उद्योगको सय वर्ष पूरा भएको थियो। सोही अवसरमा लताले भनेकी थिइन्, ‘फिल्म उद्योगको सय वर्ष पूरा भयो जसमा ७१ वर्ष मेरो छ।’

सन् २००१ मा संगीत क्षेत्रमा योगदान गरेको भन्दै भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ लतालाई दिइएको थियो। ‘पद्म विभूषण’, ‘पद्म भूषण’, ‘दादा साहेब फाल्के’लगायत अवार्डबाट उनी सम्मानित भएकी थिइन्।

साथै, सन् १९७४ मा लताले सबैभन्दा धेरै गीत गाएर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएकी थिइन्। उनलाई ‘स्वर कोकिला’का नामले पनि चिन्ने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell