
सुर्खेत : कर्णाली प्रदेशमा आइतवार बेलुकासम्म मन्त्रिपरिषद् विस्तार हुने भएको छ। मुख्यमन्त्री जीवन बहादुर शाहीले आज बेलुकासम्म पाँच जना मन्त्री थप्ने तयारी गरेका छन्।
यसअघि नेकपा (माओवादी केन्द्र)ले चार वटा र नेकपा (एकीकृत समाजवादी)ले दुई वटा मन्त्रालय दावी गर्दै आएको थियो। यता, सत्ताको बागडोर सम्हालेको कांग्रेसले पनि मुख्यमन्त्रीसहित दुई मन्त्रालय राख्ने दाउकै कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो।
मन्त्रालय बाँडफाँडमा सत्तारुढ दलभित्र लामो समय रस्साकस्सी चलेको कर्णालीमा कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई/दुई जना र एकीकृत समाजवादीको तर्फबाट एक जना सरकारमा पठाउने गरी सहमति भएअनुसार मन्त्री नियुक्त गर्ने तयारी रहेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।
जसमा कांग्रेसका हिमबहादुर शाही र यज्ञबहादुर बुढाक्षेत्री, माओवादी केन्द्रबाट गणेश प्रसाद सिंह र कार्चेन लामा, एकीकृत समाजवादीको तर्फबाट पदम बहादुर रोकायाको नाम सिफारिस भएको छ।
सहमतिअनुसार सिफारिस गरिएकाहरुलाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गर्ने तयारी रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ।
‘पछिल्लो सहमतिअनुसार सिफारिस भएर आएकाहरुलाई नियुक्त गर्ने तयारी गर्नुभएको छ’, प्रमुख स्वकीय सचिव राज रोकायले भने, ‘कसले कुन मन्त्रालय लिने भन्ने छलफलमै हुनुहुन्छ अब छिट्टै टुंगिन्छ।’
माओवादी केन्द्रका तर्फबाट सिफारिस भएका लामा गैरसांसद हुन्। त्यसैले उनी ६ महिनाका लागि नियुक्त हुने छन्। जसले गर्दा माओवादी केन्द्रभित्रै चर्को असन्तुष्ट र विरोध भइरहेको छ। यद्यपि, माओवादी केन्द्रले सांसद नै नभएका लामालाई मन्त्री बनाउने निर्णय गरिसकेको छ।
एकीकृत समाजवादीले भने जेठ २ गते पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई विश्वासको मत दिने बेला भएको सहमति तोडिएको भन्दै असन्तुष्टी जनाएको छ। यद्यपि, शीर्ष नेतृत्वबीच भागबण्डाको विषयमा छलफल भइरहेको एकीकृत समाजवादीका सांसद रोकायाको भनाइ छ।
अहिले कर्णालीमा मुख्यमन्त्री सहित आठ मन्त्रालय छन्। जसमा माओवादी केन्द्रका सांसद विन्दमान विष्टले आर्थिक मामिला तथा योजना मन्त्रालय र एकीकृत समाजवादीका संसदीय दलका नेताले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाइसकेका छन्।