
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आगामी साता यूएई जाने भएका छन्। त्यहाँ अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका विषयमा छलफलका लागि मन्त्री श्रेष्ठ यूएई जान लागेको उनको सचिवालयले जनाएको छ।
‘अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता यूएई जानुहुने भएको छ,’ श्रेष्ठको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका विषयमा यूएई सरकारसँग फलफल गर्न मन्त्री श्रेष्ठ त्यहाँ जान लागेको सचिवालयले जनाएको छ।
भ्रमणको तयारीमा रहेका मन्त्री श्रेष्ठसँग आइतवार नेपालका लागि यूएईका राजदूत साइद हमदान अल नाकीले शिष्टाचार भेट गरेका छन्। नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे राजदूत नाकीसँग छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गइ अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदुत साइदसँग आग्रह गरेका छन्। अलपत्र परेका नेपालीहरुलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्ने क्रममा यूएई सरकारबाट सहयोग गर्न मन्त्री श्रेष्ठले आग्रह गरेका छन्।
नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पनि यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठले बताएका छन्।
राजदूत साइदले अलपत्र परेका नेपालीलाई यूएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेहरुलाई पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। मन्त्री श्रेष्ठको यूएई भ्रमणको क्रममा नेपाल-यूएई संयुक्त समितिको बैठक पनि आयोजना हुनेछ।