बाग्लुङ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बागलुङका कार्यालय प्रमुखहरुसँग बजेट थप गर्नुपर्ने योजना माग गरेका छन्। गृहजिल्ला बाग्लुङ पुगेका मन्त्री पौडेलले जिल्लामा रहेका कार्यालयका प्रमुखहरुसँग छलफल गर्दै योजना माग गरेका हुन्। उनले छलफलमा बजेट थप गर्नुपर्ने नयाँ तथा पुराना योजनाको विवरण माग गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
‘अर्थ मन्त्रालयले फागुनको अन्तिम साता बजेट रकमान्तर गर्दैछ। थप्नुपर्ने योजनाको विवरण दिनुहोस् मन्त्री र सचिवसँग छलफल गरी बजेट थप्न लगाउँछु,’ कार्यालय प्रमुखहरुलाई मन्त्री पौडेलले भने।
उनले तोकिएकै समयमा चुनाव हुने भएकाले फागुनभरमा जिल्लामा सञ्चालित धेरै योजनाको काम सक्नसमेत प्रमुखहरुलाई निर्देशन दिएका छन्।
‘स्थानीय तहको चुनाव हुने भएपछि कार्यालय प्रमुख उतै लाग्दा विकास निर्माणको काममा विलम्ब हुन सक्छ,’ मन्त्री पौडेलले भने, ‘अल्झेका काम फुकाउँदै फागुनको अन्तिम सातासम्म धेरै योजनाहरुको काम सक्नुहोस्।‘
उनले गलकोट - मल्म जोड्ने पक्की पुल निर्माणमा ढिलाई भएको भन्दै त्यसको अनुगमन गरी काम अघि बढाउन निर्देशनसमेत दिएका छन्। जिल्लामा झलुङ्गे पुलको समस्या समाधान हुँदै गएकाले नयाँ बनाउनुपर्ने ठाउँको अध्ययन गर्न सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशनसमेत दिए।
त्यस्तै आलु, मकै तथा अन्य कृषिसम्बन्धी योजनामा बजेट विनियोजन गर्नुपरे योजनाको नाम टिपाउँन आग्रह गरे। ‘नयाँ बजेटका लागि योजना आयोगसँग छलफल चलिरहेको छ। रणनीतिक योजनाहरु, विद्यालय, मोटरबाटो लगायतका पूर्वाधार निर्माणका लागि कुन योजनामा कति रकम विनियोजन गर्ने लिपिबद्ध गरी टिपाउनु होला,’ मन्त्री पौडेलले निर्देशन दिए।
उनले बुर्तिबाङ प्राथमिक अस्पताललाई जिल्ला अस्पताल बनाउने प्रक्रिया रहेको उल्लेख गर्दै आवश्यक प्रक्रिया जुटाउने काम भइरहेको जानकारी दिए।
‘बुर्तिबाङको अस्पताललाई जिल्ला अस्पताल घोषणा गर्न स्वास्थ्यमन्त्रीसँग छलफल गरी प्रदेशलाई निर्णय गराउन मैले भनेको छु,’ मन्त्री पौडेलले भने, ‘त्यसका लागि स्वास्थ्य कार्यालयले आवश्यक समन्वय गरि दिनपर्यो।‘
त्यस्तै बुर्तिबाङमा रहेको निशीभुजी जनता क्याम्पसलाई पोखरा विश्वविद्यालयसँग जोडेर थप व्यवस्थित गर्ने काम भइरहेको बताउँदै अनुगमनका लागि विश्वविद्यालयका पदाधिकारी बुर्तिबाङ जाने जानकारी दिए।