PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

साथीहरुको गजब-गजब भाषण सुनिन्छ तर एक्लै चुनावमा लड्ने क्षमता कांग्रेससँग छैन : रामचन्द्र पौडेल



पहिलोपोस्ट

साथीहरुको गजब-गजब भाषण सुनिन्छ तर एक्लै चुनावमा लड्ने क्षमता कांग्रेससँग छैन : रामचन्द्र पौडेल

पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका छन्। पोखरामा आज नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले गठबन्धनलाई निरन्तरता दिएर चुनावमा जानुपर्ने बताएका हुन्।

गठबन्धनसँग मिलेर चुनावमा जाँदा कांग्रेसको उपस्थिति बलियो हुने उनको धारण छ। अहिलेको परिस्थितिमा एक्लै चुनावमा जानका लागि कांग्रेसको क्षमता नभएको पौडेलले बताए।

‘साथीहरुका गजब-गजबका भाषण बेलाबेला सुनिन्छ। हामी त एक्लै लडिन्छ ठीक छ। एक्लै लडौँ, तर एक्लै लड्नका लागि एक्लै लड्ने क्षमता बनाउँ,' पौडेलले भने।

उनले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले निकालेको जितलाई सम्झाउँदै प्रश्न गरे, ‘राष्ट्रियसभाको कुरा गरौँ, हिजोमात्र कमलपन्त सदस्य बन्नु भएको एक्लै होइन होला नि त। सरकारमा कांग्रेसका शेरबहादुर प्रधानमन्त्री हुनुहुन्छ। एक्लै कांग्रेसले सरकारले बनाएको होइन होला नि?’

शेखर कोइराला समूहले आउने निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने मत राख्दै आएका छन्। त्यसैलाई नै काउन्टर दिँदै पौडेलले राष्ट्रियसभा निर्वाचनसम्मका लागि मात्र गठबन्धनको साथ चाहिएको भन्ने भए त्यसपछि कांग्रेसको भविष्य नहुने बताए।

‘मैले मन्तव्य पनि सुनेँ। कसैले राष्ट्रियसभासम्मका लागि गठबन्धन हो भने। त्यसपछि उता गठबन्धन इतिश्री हो भने। के त्यसपछि कांग्रेस इतिश्री हुने हो त? कांग्रेस जस्तो पार्टी चुनाव जित्नका लागि लड्ने कि लड्नका लागि मात्र?’, उनले आफूहरुसँग ३० प्रतिशत मात्र जनमत रहेकाले पनि एक्लै चुनावमा जान नमिल्ने बताए।

‘तथ्यांकले देखाउँछ हाम्रो कांग्रेसको मत ३० प्रतिशत मात्र हो। ७० प्रतिशतसँग कांग्रेस हिँड्छु भन्यो भने के हुन्छ?’, उनले भने।

उनले निर्वाचनका लागि सही उम्मेद्वार प्रदेशले नै इमान्दारीपूर्वक रोज्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell