काठमाडौँः मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौतालाई लिएर सत्ताभित्र र बाहिर विवाद कायमै छ। सत्तारुढ गठबन्धनभित्र सम्झौताको विवाद उत्कर्षमा छ। प्रमुख विपक्षी दल नेकपा (एमाले) ले सरकारभित्र हुँदा र बाहिर रहँदाको पोजिसन फरक बनाएको छ।
संसद् बाहिर रहेका साना दलहरुले पनि सम्झौता अनुमोदनको विपक्षका निरन्तर खबरदारी गर्दै आएका छन्।
आइतबार साँझ नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुतला जलाएको छ। मसाल जुलुससहित नेकपाका कार्यकताले बागबजार, घण्टाघर लगायतका क्षेत्रमा प्रदर्शन गरेका थिए।