PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

रातभर ३७ जना प्रहरीले चन्द्रागिरि जङ्गल सर्च गरेपछि फेला परे हिउँ खेल्न जाँदा बेपत्ता एकै परिवारका पाँच जना

रातभर ३७ जना प्रहरीले चन्द्रागिरि जङ्गल सर्च गरेपछि फेला परे हिउँ खेल्न जाँदा बेपत्ता एकै परिवारका पाँच जना

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राति ९ बजेतिर महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपीले महानगरीय प्रहरी परिसर काठमाडौँलाई मानिस हराएको भन्दै जानकारी दिए। एसएसपी सुदीप गिरीले एकै घरका पाँच जना हराएपछि चासोको साथ यस घटनालाई लिए। एसपी दिनेश मैनाली हिउँ खेल्न गएका पाँच जनाको खोजीमा अपरेसन सुरु गरे।

काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थान बस्ने २३ वर्षीया रिता गुरुङ, १५ वर्षे सौभाग्य गुरुङ, १३ वर्षे सहज गुरुङ, ११ वर्षे जेनिसा गुरुङ, र ७ वर्षे एरविन गुरुङ सँगै हिउँ खेल्न निस्किएका थिए। आइतबार उनीहरू चन्द्रागिरिमा हिउँ खेल्दै गर्दा जङ्गलभित्र हराएका थिए।

प्रहरीसँग कुनै प्राविधिक तरिकाले खोजी गर्ने धेरै आधार थिएन। उनीहरूले बोकेको मोबाइलको लोकेसन जङ्गलको एउटै टावरमा ठोकिने भएकाले निश्चित लोकेसन भेटाउन ग्राहो थियो। त्यसैले प्रहरीले रातभर जङ्गलमा प्रहरीको सर्च अपरेसन गर्‍यो।

'हामीले जानकारी पाएपछि नै ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेका थियो। सबै प्रहरी जङ्गलमा छरिएर खोजी गरेका थिए,' महानगरीय प्रहरी परिसरका एसपी दिनेश मैनालीले भने। काठमाडौं प्रहरी परिसरले खबर पाउनु अघि स्थानीयवासी र लोकल प्रहरीले खोजी गरिरहेको थियो।

बेपत्ताको खोजीमा प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेय र महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डपबाट प्रहरी नायब उपरीक्षकको कमान्डमा विपद् व्यवस्थापन गुल्म सामाखुसी समेतको टोली गरी ३७ जनाको टोली खटियो।

पाँचै जनालाई राति सवा एक बजे चन्द्रगिरी जङ्गलमा सकुशल फेला पारेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले जानकारी दिए। उनीहरूको स्वास्थ्य सामान्य नै रहेको देखिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell