PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुकुम्बासीको सरकारलाई चेतावनी : चुनावअघि लालपूर्जा वितरण नगरिए भोट हाल्दैनौँ

सुकुम्बासीको सरकारलाई चेतावनी : चुनावअघि लालपूर्जा वितरण नगरिए भोट हाल्दैनौँ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको हकअधिकार सुनिश्चित गर्न भन्दै आज काठमाडौंमा र्‍याली निकालिएको छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको आयोजनामा माइतीघरबाट नयाँ बानेश्वरसम्म र्‍याली निकालिएको हो।

भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीहरुको हकअधिकारको सुनिश्चितताको लागि राज्य र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन र्‍याली निकालिएको बताइएको छ।

सो क्रममा र्‍यालीमा सहभागीहरुले बसोबासको आधारमा देशव्यापी रुपमा सबैलाई लालपूर्जा वितरण गर्नुपर्ने माग राखेका छन्। त्यस्तै, जबरजस्ती उठिबासको विरोध गर्दै उनीहरुले बिना विकल्प सुकुम्बासी समुदायलाई हटाउन नहुने बताए। सुकुम्बासी समुदायसँग छलफल गरेर त्यो बस्तीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विकल्प खोज्न उनीहरुको माग थियो।


र्‍यालीमा सहभागी नेपाल बसोबास बस्ती समाजकी केन्द्रीय कोषाध्यक्ष स्मिता आचार्यले चुनावअघि नै उपत्यकामा भूमि आयोग गठन गरेर काठमाडौंमा लालपूर्जा वितरणको अभियान सुरु गर्नुपर्ने बताइन्। सुकुम्बासीहरुलाई उठिबास लगाउने गरी राज्यबाट आउने घरटहरा भत्काउने सूचना बन्द गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताइन्।

‘विकासको विरोधी कुनै समुदाय पनि होइन, सुकुम्बासी पनि होइनन्। विकासको नाममा विनास भइरहेको छ। सुकुम्बासीको घरटहरा भत्काउन पाइँदैन। चुनावअघि लालपूर्जा वितरण नगरिए सुकुम्बासीहरुले भोट हाल्ने छैनन्,’ उनले भनिन्।


र्‍यालीमा वाग्मती किनारा, मनोहरा बस्तीलगायतका सुकुम्बासी बस्तीका व्यक्तिहरुको सहभागिता थियो।



ट्रेन्डिङ पोस्ट

Ncell