
काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युतको प्रयोग गरेर रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने बताएकी छन्। कृषि मन्त्रालयमा सोमवार भएको छलफलमा उनले दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतकै प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताइन्।
‘देशभित्र ऊर्जाको रुपमा जे खपत हुन्छ त्यो जलविद्युतबाट उत्पादित ऊर्जा नै हुनुपर्छ,’ उनले भनिन्।
लगानी बोर्डमार्फत लगानी गर्ने उद्योगी व्यवसायीहरूले पनि नाफासँगै देशलाई माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।
‘हामी देशभक्त नागरिकले राष्ट्रको हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। यहीँभित्र नाफा, व्यापार खोजौँ। मेरो विनम्र आग्रह छ,’ उनले भनिन्।
जलविद्युत प्रयोग गरेर मल कारखाना स्थापना गर्नेतर्फ लाग्नुपर्नेमा जोड उनको थियो।
‘हामी आवश्यकताअनुसारको विद्युत उपलब्ध गराउन तयार छौँ। जलविद्युत आयोजनाको सञ्चालन खर्च मात्र लिएर पनि विद्युत दिन तयार छौँ’, मन्त्री भुसालले भनिन्, ‘ऊर्जाकै कारणले महङ्गो हुने स्थिति आउँदैन त्यसका लागि ऊर्जा मन्त्रालय आश्वस्त पार्न चाहन्छ।’
डलरले खरिद गरेर ल्याएको ग्यासभन्दा देशभित्र उत्पादन भएको ऊर्जा प्रयोग गर्नुपर्ने मन्त्री भुसालको भनाइ थियो।
‘हामीले तत्कालको लागत मात्र हिसाब गरेर ग्यासबाट उद्योग स्थापना गर्ने निर्णयमा पुग्नु अगाडि भावी पुस्ता, दीगो विकास लक्ष्य, विश्व सामु हामीले गरेका प्रतिवद्धतालाई समेत गहिरो ढङ्गले सोच्नुपर्छ,’ उनले भनिन्।
छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले मल खादमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्ने बताए। मल अभावको राष्ट्रिय समस्यालाई हल गर्नका लागि सबैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो। विद्युतबाटै मल उत्पादन भयो भने आत्मनिर्भर हुने बताउँदै लागतको विषयमा पनि छलफल गर्नुपर्ने मन्त्री यादवले बताए।
‘सातवटै प्रदेशमा मल कारखाना स्थापना गर्ने गरी सोच्नुपर्छ, प्रत्येक प्रदेशमा दुई लाख मेट्रिक टन क्षमताको कारखाना स्थापना गर्नेगरी अगाडि बढ्नुपर्छ’, उनले भने, ‘चाँडोभन्दा चाँडो नेपालमा मल कारखाना स्थापना गरेर कृषकलाई आश्वाश्त तुल्याउनुपर्छ।’
त्यस अवसरमा नेपालका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खाद्य सुरक्षाको लागि पनि मख कारखाना स्थापना महत्पूर्ण भएको र त्यसका लागि नेपालकै विद्युतीय ऊर्जा प्रयोग हुनुपर्ने बताए।
‘दूरगामी हिसाबले पनि जलविद्युत नै प्रयोग गरेर मल उत्पादन गर्नुपर्छ, भविष्यका लागि पनि यो नै उपयुक्त हुन्छ,’ उनले भने।