PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

झन्डै एक दशकपछि धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बाटो खुल्यो



एम बम

झन्डै एक दशकपछि धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बाटो खुल्यो

कैलालीः झन्डै एक दशकअघि धनगढीमा सुरु भएको एसपीए कप पछि गएर धनगढी प्रिमियर लिग बन्यो। देशकै ठूलोमध्येको एक व्यावसायिक क्रिकेट प्रतियोगिताले सुदूरपश्चिममा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउनुपर्छ भन्ने हुटहुटी पनि चलायो। त्यसपछि धनगढी उपमहानगरपालिका ३ मा रंगशाला बनाउने अभियान थालियो। तर संघीय सरकारका नाममा रहेको उक्त जमिनको भोगाधिकार नपाएर परियोजना अलपत्र जस्तै बन्यो । पटक पटक स्थानीय र प्रदेश सरकारहरूले विनियोजन गरेको बजेट फ्रिज भयो। अब भने उक्त सपना साकार हुने सम्भावना बलियो बनेको छ।

‘नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि साढे ३८ बिघा जग्गा उपलब्ध गराएको छ।  परियोजना कार्यान्वयनका लागि विकास समिति पनि गठन भएको छ। माघ १० गते उक्त निर्णय भएको हो।  

रंगशाला र खेलग्राम बनाउन सरकारले दुई लाख ६० हजार ९१९ वर्गमिटर जग्गा उपलब्ध गराउने निर्णय गरेको हो। यस सम्बन्धी पूर्वाधार विकासलगायतका कार्य अगाडि बढाउन फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम विकास समिति गठन गर्ने प्रक्रिया युवा तथा खेलकुद मन्त्रालयले अगाडि बढाउने निर्णयमा उल्लेख छ। मन्त्रिपरिषद्को निर्णयले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको सपना पूरा गर्न झन्डै एक दशकपछि बाटो खुलेको ड्रिम फाप्लाका अभियन्ता सुवास शाहीले बताए।

२०७५ सालमा औपचारिक रूपमै सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषदले जमिनको भोगाधिकार माग गर्ने गरी संघीय सरकारलाई पत्राचार गरेको थियो।

जिल्ला प्रशासन कार्यालयमार्फत् पनि त्यसको पहल निरन्तर हुँदै आएको थियो।

सरकारको उक्त निर्णय कार्यान्वयनका लागि फिल्डमा काम समेत सुचारु भइसकेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले बताए।

‘डीपीआर पछि माटो परीक्षणको काम अगाडि बढेको छ,’ उनले भने, ‘एक महिनापछि माटो परीक्षणको नतिजा आउँछ।’

फाप्लालाई सुदूरपश्चिम सरकारले प्रदेश गौरवको आयोजनामा समेत राखेको छ। तर जग्गाको भोगाधिकार नपाएरै यसअघि प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाले बर्सेनि विनियोजन गर्दै आएको बजेट फ्रिज हुँदै आएको थियो। जमिनको विवादले रोकिएको यो अभियानमा बजेट अभाव नहुने भन्दै अब छिटै यो काम सम्पन्न हुने स्थानीयले आशा व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell