PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

ग्रामीण भेगका वडामा छैनन् सुत्केरीका लागि आवश्यक स्वास्थ्य उपकरण



रिना थापा

ग्रामीण भेगका वडामा छैनन् सुत्केरीका लागि आवश्यक स्वास्थ्य उपकरण
फोटो/राधा गिरी

पोखराः आइतबार राती १० बजे बडिगाड गाउँपालिका ३ सिसाखानी बागलुङकी २६ वर्षीया महिलालाई सुत्केरी व्यथा लाग्यो। रातको करिब १ बजे घरमै बच्चा जन्माएकी उनको साल अड्क्यो।

वडा नम्बर ३ मा बर्थिङ सेन्टर त थियो तर, वडामा रहेको बर्थिङ सेन्टरमा आवश्यक उपकरण नभएको र सरकारले तोकेअनुसार एसबिएको सर्टिफिकेट लिएको अनमी नभएपछि परिवारको रोजाइमा तीन घण्टाको दुरीमा रहेको दगातुन डाँडाको स्वास्थ्य चौकी पर्‍यो।

उसो त आकस्मिक उपचारको लागि परिवारले वडा नम्बर ३ मै रहेको बर्थिङ सेन्टरमा सम्पर्क नगरेको भने होइन। पालिकाभित्रका केही स्थानमा मोबाइल नेटवर्क नटिप्ने समस्या उस्तै। स्वास्थ्यकर्मी कसैसँग सम्पर्कै भएन। हिउँले यातायातमा समस्या थियो। स्वास्थ्यकर्मीसँग टेलिफोन हुन नसकेपछि सुत्केरीलाई घरमै छोडेर लगभग बिहानको साढे चार बजे पैदलयात्रा गरेर परिवारका सदस्य वडा नम्बर १ मा पर्ने दगातुन डाँडा स्वास्थ्य चौकीमा पुगे।

स्वास्थ्य चौकीमा कार्यरत दुई जना स्वास्थ्यकर्मी राधा गिरी र दीपक थापा पनि पैदल यात्राबाट बिहान ६ बजे मात्रै सुत्केरी कहाँ पुगे।

करिब ६ बजे सुत्केरी कहाँ पुगेकी स्वास्थ्यकर्मी राधाले त्यहाँ पुग्दा अँध्यारो कोठामा सुत्केरी अचेत अवस्थामा देखिनँ।

‘हामी पुग्दा सुत्केरीको अवस्था एकदमै नाजुक र दयनीय थियो। अचेत अवस्थामा रहनुभएकी उहाँलाई सुरुमा होसमा ल्याउने काम गरियो। त्यहाँ राख्नु थप खतरनाक हुन जान्थ्यो सुत्केरीका लागि,’ उनले भनिन्।

नेटवर्कमा भएको समस्याका कारण बाहिरबाट सहयोग माग्न सक्ने अवस्था थिएन।

'१० मिनेट हिँडेर डाँडामा उक्लेपछि मात्रै बुर्तिबाङ अस्पतालमा सम्पर्क गर्ने सक्ने अवस्था थियो। डाक्टरसँग परामर्श लिँदै सुत्केरीलाई हेरचाह गरिरह्यौँ,' उनले सुनाइन्।

जिल्ला अस्पताल बुर्तिबाङमा पनि नाजुक अवस्थाका बिरामीका लागि आवश्यक सेवा सुविधा छैन। पोखरा नै ल्याउनुपर्ने बाध्यात्मक परिस्थिति छ। त्यतिञ्जेलसम्म बुर्तिबाङ अस्पतालले प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमा समन्वय गरेर सुत्केरीको हवाइजहाजमार्फत उद्धार गर्‍यो।

सुत्केरीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बच्चाको स्वास्थ्य अवस्था ठिक छ।

ग्रामीण भेगका सुत्केरीले भोग्नुपरेको एक उदाहरण मात्र हो आजको घटना। वडा १ मा कार्यरत रहेकी राधाको अनुभव छ स्थानीय सकेसम्म घरमै बच्चा जन्माउन खोज्छन्। वडा र पालिकाबाट पनि स्वास्थ्य प्रजनन् सम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा अघि बढाएको देखिँदैन।

'यहाँको समुदायमा स्वास्थ्यचौकी आउनुपर्ने भन्ने अझै त्यती ज्ञान छैन स्वास्थ्यचौकी लगे पनि के गर्ने हो र सोच्नुहुन्छ अस्पताल आउनुभन्दा आगो तापेर सेकेर सुत्केरी गराउन सजिलो हुने धारण छ,' उनले भनिन्।

सोमबारको घटनामा पनि सुरुआतमा परिवारले घरमै सुत्केरी गराउन खोजेको उनको भनाइ छ।

एक महिना अगाडि पनि सुत्केरीको स्वास्थ्यसम्बन्धी पालिकामा यस्तै घटना भएको थियो। जनचेतना नभएका कारण परिवारले अस्पताल ढिलो ल्याइपुर्‍याए। आमाको ज्यान जोगिए पनि बच्चाले ज्यान गुमाउनुपर्‍यो ।

'एक त आवश्यक उपकरण छैन जनसमुदायमा चेतना पनि कम छ। अघिल्लो महिनामात्र एकजना हाम्रै स्वास्थ्य चौकीमा आउनुभएको थियो,' उनले भनिन्, 'सुरुमा घरमै सुत्केरी गराउने प्रयास गर्नुभएको रहेछ अवस्था कमजोर बनेसी चौकी ल्याउनुभयो आमाको ज्यान जोगिए पनि बच्चाको मृत्यु भयो।'

वडा नं ३ का वडाध्यक्ष खडकबहादुर पुन पनि ग्रामीण भेगमा रहेको समस्यालाई स्वीकार्छन् ।

'वडामा आवश्यक उपकरण छैन हामी सेवा सुविधायुक्त स्वास्थ्य चौकी सञ्चालनमा ल्याउँदै छौँ,' उनले भने ।

उनले वडाबाट स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि अघि बढाइरहेको बताए।

वडा ३ मा यही वैशाखबाट मात्र सञ्चालनमा आएको हो बर्थिङ सेन्टर। त्यो पनि सरकारले तोकेको मापदण्ड अनुसारको कर्मचारी र उपकरण नै छैन। वडा ३ मा मासिकाका रुपमा कार्यरत रहेकी ललिता श्री सुनाउँछिन्, ‘वडाको बर्थिङ सेन्टरमा एसबिए गरेको एकजना पनि छैनन्। हामीलाई आवश्यक उपकरण समेत छैन गाउँपालिकालाई भनेको केही सुन्दैनन् काम गर्न असहज छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell